Khabar Out
सानीभेरी जलविद्युत् आयोजनामा लगानी जुट्यो

काठमाडौँ । एक्पर्ट हाइड्रो इन्भेस्टमेन्ट कम्पनीले निर्माण गर्ने ४४ दशमलव ५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । उक्त आयोजनामा सिटिजन्स बैङ्कको नेतृत्वमा विभिन्न बैङ्क तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । 

आयोजनामा सिटिजन्स बैङ्कले रु दुई अर्ब ५० करोड, नवील बैङ्कले रु एक अर्ब ५० करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले रु एक अर्ब २० करोड, सानिमा बैङ्क र सिद्धार्थ बैङ्कले समान एक/एक अर्ब लगानी गर्ने भएका हुन् ।

सोमबार भएको द्विपक्षीय सम्झौतामा एक्पर्ट हाइड्रो इभेन्टका प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स बैङ्कका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कूल रु नौ अर्ब ६० करोड लागत रहने आयोजनामा २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत ऋणबाट जुटाइने प्रबन्ध निर्देशक नेपालले जानकारी दिनुभयो । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–७ र १४ मा निर्माण हुने सो आयोजना ४२ महिनाभित्र सम्पन्न गरिनेछ ।

नदी प्रवाही प्रकृतिको सो आयोजनाबाट उत्पादित बिजुली बाफीकोट सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट वार्षिक रूपमा २८३ दशमलव ३७ गिगावाट घण्टा बिजुली उत्पादन हुनेछ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विसं २०८० असार २७ मा विद्युत् खरिद बिक्री सम्झौता गरिसकेको छ । रासस

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update