
ताप्लेजुङ । गएराति परेको अविरल वर्षासँगै पानीको बहाव बढेपछि काबेली खोलाले सिनाम पावर हाउसमा रहेका दुई वटा एस्काभेटर र दुई वटा टिपर बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार काबेली खोलाले नम्बर नखुलेका दुईवटा एस्काभेटर र दुई वटा टिपर बगाएको हो ।
सिरीजङ्घा गाउँपालिका–१ स्थित उक्त पावर हाउसबाट बगाएका दुई वटा एस्काभेटर भने करिब २० मिटर तल डुबेको अवस्थामा छन् भने दुई वटा टिपर भेटिएका छैनन् । बाँकी टिपरको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ ।
वर्षाकै कारणमाथिबाट पहिरो झरेपछि सिरीजङ्घा गाउँपालिका–५ पेदाङस्थित हाङमाया थुङ्गिीम (लिम्बू) को परिवार पूर्ण रूपमा विस्थापित भएको छ भने अन्य पाँच घर जोखिममा परेको स्थानीय राजनीतिकर्मी खेलप्रसाद बुढक्षेत्री (पराग) ले जानकारी दिए ।
यस्तै सोही गाउँपालिका ७ नम्बर वडामा पर्ने महेन्द्र आधारभूत विद्यालयको खेलमैदानमा समेत क्षति पुगेको छ । नयाँ बन्दै गरेको भवन छेउबाट पहिरो झरेको वडा सदस्य जगत साम्यूले जानकारी दिए ।
गए राति जिल्लाका विभिन्न ठाउँमा भारी वर्षा भएको थियो । वर्षाका कारण साना ठुला पहिरोले बर्खे बालीनालीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् । रासस