Khabar Out
सिमलटारी–सौतामारे सडक समयमा निर्माण नगर्दा समस्यामा यात्रु

गुल्मी । मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीबाट प्यूठानको मच्छीसम्मको सडक निर्माणमा ढिलाइ भएको छ । निर्माण व्यवसायीले तोकिएको समयमा सडक निर्माण नगर्दा वर्षातमा यात्रुहरूले समस्या भोग्दै आएका छन् । 

सडक निर्माण सुरु भएको करिब तीन वर्षमा सो सडकखण्डमा २६ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । मदनभण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इञ्जिनियर प्रभात तिवारीका अनुसार उक्त सडकमा ३३ महिनामा २६ प्रतिशत भौतिक र २३ प्रतिशत वित्तीय प्रगति भएको छ । 

गुल्मीको सिमलटारीबाट सौतामारे हुँदै प्यूठानको मच्छीसम्म ३१ किलोमिटर सडक निर्माण गर्ने जिम्मा श्रेष्ठ‐सक्षम जेभीले लिएको थियो । 

वि.सं. २०७९ कात्तिक ५ गते एक अर्ब ४५ करोड ३३ हजार रुपैयाँमा ३१ किलोमिटर सडक निर्माणको सम्झौता गरिएको थियो ।

लामो समयसम्म सडक निर्माणले गति नलिएको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताए । 

नागरिक समाजले पनि पटक पटक गुनासो गरेपछि गुल्मीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाको नेतृत्वमा स्थानीय तह र योजना कार्यालयको संयुक्त टोलीले उक्त सडकखण्डको हालै स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा कामको प्रगति र सडकको अवस्थाबारे जानकारी लिइएको छ । रासस  

सडकको सबवेस, बेस र अस्फाल्ट प्रविधिबाट कालोपत्रलगायतका धेरै काम बाँकी रहेको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । मदनभण्डारी राजमार्ग योजना कार्यालयले निर्माण व्यवसायीलाई कामको गति बढाउन निरन्तर ताकेता गर्दै आएको जनाएको छ । 

लगातार काम गरेको खण्डमा २०८३ असार मसान्तसम्म उक्त सडक निर्माण सम्पन्न गर्ने कार्यालयको लक्ष्य छ ।  निर्माण व्यवसायीको तर्फबाट इञ्जिनियर किसन शाहका अनुसार आर्थिक समस्याका कारण काममा ढिलाइ भएको हो । 

उनले पुस मसान्त र असार मसान्तमा कार्यालयबाट भुक्तानी पाउन ढिला भएका कारण काममा असर परेको बताए । काम गर्न म्याद थपको प्रक्रिया अघि बढेको र थपिएको म्यादभित्रै सम्पन्न गर्ने उनले बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  २२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update