
ताप्लेजुङ । आयोजक ताप्लेजुङको तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै द योङ स्पोर्टिङ क्लब इटहरी ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आयोजकको तर्फबाट दुईजना विदेशी र चारजना राष्ट्रिय खेलाडीसमेत उतारेको तेल्लोक उद्घाटन खेलबाटै बाहिरिएको हो ।शनिबार भएको उद्घाटन खेलमा आयोजकको तर्फबाट तेल्लोक स्पोर्टिङ क्लबका सञ्जय श्रेष्ठले पहिलो हाफको २६ औं मिनेटमा पहिलो गोलको खाता खोलेर घरेलु मैदानका दर्शकलाई उत्साही बनाएका थिए । तर दोस्रो हाफको ७० औं मिनेटमा इटहरीका निरज खड्काले पहिलो गोल फर्काए र खेललाई बराबरीमा ल्याए । ७४ औं मिनेटमा इटहरीका योगेन राईले आफ्नो टिमको तर्फबाट दोस्रो गोल गरे । यो इटहरीका लागि निर्णायक गोल बन्यो । उनले गरेको यो गोल सेमिफाइनल प्रवेशका लागि काफी बन्यो ।
पहिलो दिनको म्यान अफ दी म्याच इटहरीका निरज खड्का भए र आयोजकबाट सात हजार रुपैयाँ प्राप्त गरे ।
उद्घाटन खेल पाँच हजार दर्शकले अवलोकन गरेको आयोजकको दाबी छ । आइतबारको खेल सहारा क्लब पोखरा र रेडस्टार क्लब झापाबीच हुनेछ । दुवै टिम ताप्लेजुङ आइपुगेको आयोजकले बताएका छन् ।
आठ टिम सहभागी रहेको प्रतियोगिताको उपाधि विजेताले सात लाख दुई हजार ८२ र उपविजेताले तीन लाख ५० हजार दुई सय ८२ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । फाइनल खेल साउन ३१ गते हुनेछ । रासस