
देउखुरी । दाङमा छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर तुलसीपुरका दुई किशोरको मृत्यु भएको छ ।
बबई गाउँपालिका–४ पुरन्धारा छहरानजिकै नदीमा पौडी खेल्ने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका–२ निवासी १७ वर्षीय विधान केसी र सोही ठाउँका १६ वर्षीय कुशल बुढामगर छन् ।
साथीहरूसँग पौडी खेल्न गएका उनीहरू नदीमा डुबेर हराएको हापुरे इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख देव केसीले जानकारी दिए । शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।
मोटरसाइकल दुर्घटनामा दुई किशोरको मृत्यु भएको छ । रामपुर–घोराही सडकको सिस्नेखोला पुलमा दुर्घटनामा परी गढवा गाउँपालिका–८ का १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विकको मृत्यु भएको हो ।
दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।
रामपुरबाट घोराहीतर्फ आउँदै गरेको रा७प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा बेलुका ७ बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुवैजनाको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ । रासस