Khabar Out
धनुषाको मथिलेश्वरमा श्रीमान्–श्रीमती मृत फेला

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–३, मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् ।

माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ । उनको हत्या गरिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

उनका श्रीमान् ३५ वर्षीय उमेश यादव घरदेखि करिब एक किलोमिटर टाढा रुखमा झुन्डिएको अवस्थामा आइतबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

मिथिला बिहारी–४, भरतपुर निवासी उमेश केही दिनअघि मात्र वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्र ससुराली पुगेका थिए ।

उनीहरूका चार वर्षीय छोरा छन् । बालकको एउटा तिघ्रामा पनि धारिलो हतियार प्रहार भएको घाउ देखिएको डीएसपी खनालले बताए । घटनाको प्रकृति शंकास्पद देखिएको उनले उल्लेख गरे । “घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ,” उनले भने ।

घटनाका कारण तथा मृत्युको परिस्थितिबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update