Khabar Out
नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली भाषाको श्रीवृद्धि र राष्ट्रिय एकता प्रवर्द्धनमा आदिकवि भानुभक्त आचार्यले पुर्‍याउनुभएको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् ।

आदिकवि भानुभक्तको २१२ औँ जन्म जयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले भानुभक्तका विचार र आदर्शहरूलाई आत्मसात् गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निरन्तर लागिरहनुपर्ने उल्लेख गरेका हुन् । 

SRS AD

‘घाँसीको प्रेरणाबाट महत्त्वपूर्ण कृति जन्माउनुभएको घटनाले उहाँको सरलता र महानता झल्कन्छ, रामायणजस्तो चर्चित र लोकप्रिय ग्रन्थलाई नेपालीमा अनुवाद गरी जनजनमा पुर्‍याएर नेपाली भाषाको श्रीवृद्धि मात्र होइन राष्ट्रिय एकता प्रवर्द्धन उहाँले गर्नुभएको योगदान सदा स्मरणीय छ’, मुख्यमन्त्री पाण्डेद्वारा जारी गरिएको सन्देशमा जनाइएको छ ।

वि.सं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घा गाउँमा जन्मिनुभएका भानुभक्तले भाषिक एकीकरणको सुरुवात गरेका थिए । रामायण, बधुशिक्षा, भक्तमाला, रामगीतालगायत उनका कैयौँ रचनाहरूले राष्ट्रिय पहिचान, सांस्कृतिक चेतना जगाउन र नेपाली संस्कृतिलाई बलियो बनाउन भूमिका खेलेका छन् । 

गण्डकी प्रदेश सरकारले आदिकवि भानुभक्तको सम्मानमा आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ । रासस

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update