Khabar Out
करेन्ट लागेर गुल्मीमा एक युवकको मृत्यु
subisu

गुल्मी । गुल्मीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–७ वाग्लाका ४० वर्षीय झबिन्द्र घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिएका छन् ।

धुर्कोट गाउँपालिका–७ द्वानेटामा रहेको राष्ट्रिय प्रसारण लाइनको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा घिमिरेलाई आज बिहान करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका घिमिरेको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा आज अपराह्न मृत्यु भएको प्रहरी नायव उपरीक्षक सारुले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोख्रेलले घिमिरे कार्यालयको कर्मचारी नभएको बताए । ‘उहाँ कार्यालयको कर्मचारी पनि होइन, ज्यालादारीमा पनि राखेको छैन, उहाँ किन पोलमा चढ्नुभयो जानकारी छैन,’ उनले भने । रासस

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update