Khabar Out
खोटाङमा  करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

खोटाङ । करेन्ट लागेर गम्भीर घाइते भएका ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित सेगेलेमका ५३ वर्षीय रामेश्वर राईको उपचारका क्रममा मृत्यु भएको छ । 

 

subisu

सेगेलेमस्थित घरमा जडान गरिएको विद्युतको तार हटाउने क्रममा आज दिउँसो करेन्ट लागेर गम्भीर घाइते बनेका उनको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचारका क्रममा मृत्यु भएको हो । 

करेन्ट लागेर बेहोस भएका राईलाई स्थानीयले गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएका थिए । केन्द्र पुर्‍याएको केही समयपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक राई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ऐसेलुखर्क गाउँपालिका कार्यसमितिका सचिवालय सदस्य हुन् । उनको शव परीक्षण गृहमा राखिएको छ ।

यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका सन्तोष भुजेल करेन्ट लागेर गम्भीर घाइते भएका छन् । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित पोक्लुमा टेकमाइन्ड नेटवर्क कम्पनीको इन्टरनेट मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका भुजेललाई गाडीमार्फत उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । उनका अनुसार शरीरका विभिन्न भागमा करेन्ट लागेर गम्भीर घाइते बनेका उनको उपचारपछि स्वास्थ्यमा सुधार आएको छ ।

भुजेललाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको जिल्ला अस्पतालका प्रमुख डा रुपेश सङ्ग्रौलाले बताए । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update