Khabar Out
हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ: प्रमुख  खापुङ्ग

काठमाडौँ ।  कोशी प्रदेश सरकारका प्रमुख परशुराम खापुङ्गले नेपालका हिमाल र साहसिक पर्यटकीयस्थल राष्ट्रका अमूल्य सम्पत्ति भएकाले यसलाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्ने बताएका छन् । 

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटन: हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको (आइतबार) अवलोकनपछि प्रदेश प्रमुख खापुङ्गले नेपालको हिमाली पर्यटन, जनजीवन, सभ्यता र संस्कृतिलाई प्रवर्द्धन गरी बढी भन्दा बढी विदेशी पर्यटक आकर्षण गर्नुपर्नेमा जोड दिए ।

subisu

उनले भने, “राससको तर्फबाट तपाईंहरूले गर्नुभएको काम प्रशंसनीय छ । यसले मुलुकमा रहेका पर्यटकीय स्थानका साथै पर्वतीय पर्यटनका सम्भावना, हिमाली जनजीवन, वातावरणलगायत पक्षका बारेमा जानकारी दिएको छ । यसलाई सबैको सहकार्य र समन्वयमा ब्राण्डिङ गरिनुपर्छ ।” 

प्रमुख खापुङ्गले हिमाल र साहसिक गतिविधिलाई समेटेर गरिएको तस्बिर प्रदर्शनीले पछिल्लो समय ‘मुलुकमा केही छैन र केही भएन’ भन्ने नकारात्मक भाष्यलाई चिर्दै देशमा केही भइरहेको छ भनी जनतामा आशा जगाउन प्रेरित गर्ने विश्वास व्यक्त गरे । 

“पछिल्ला दिनमा नकारात्मक कुरा गरेर देशमा केही भएको छैन भन्ने भाष्य सिर्जना गरिएको छ, यो गलत हो”, उनले भने, “जुन ठाउँमा मोटर बाटो पुगेको थिएन अहिले पुगेको छ। ठाउँठाउँमा जहाज उडेका छन् । टेलिफोन र इन्टरनेट सेवा विस्तार भएको छ । जति गर्नुपर्थ्यो त्यति गर्न सकिएको छैन होला तर, प्रगति भएको छ ।”

प्रदेश प्रमुख खापुङ्गले राससको तस्बिर अवलोकन गरेर देश र विकासलाई पुनः साक्षात्कार गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे । 

यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन र प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update