Khabar Out
कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई मजदुरको मृत्यु

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा चट्याङ लागेर दुई मजदुरको मृत्यु भएको छ ।

अन्नपूर्ण गाउँपालिका–११ पोडेस्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेको अवस्थामा आइतबार हावाहुरीसहितको चट्याङ लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत पुविर राई र सोही ठाउँका वर्ष १८ का महेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाईमा रहेको त्रिवेणीताल पदमार्गमा बाटो फराकिलो बनाउने, सिँढी हाल्ने र रेलिङ निर्माणमा खटिएका नौ जनामध्ये बाँकी सात जना भने सकुशल रहेको जनाइएको छ ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा चार जनाको टोली आइतबार नै घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक शमाले बताए । उनले भने, ‘जिल्लाबाट गएको प्रहरी टोली हिजो राति घान्द्रुक पुगेर बास बसेको छ । त्यहाँबाट पैदल पाँच घण्टाभन्दा बढी समय लाग्ने भएकाले दिउँसोसम्म घटनास्थल पुगेर शव ल्याउने प्रक्रिया सुरु हुन्छ ।’

नेपाल पर्यटन बोर्ड र गाउँपालिकाकाको संयुक्त लगानीमा पदमार्ग निर्माण सुरु भएको गाउँपालिकाले जनाएको छ । रासस 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update