Khabar Out
सरकारी दरभन्दा सस्तोमा धान बेच्न बाध्य दाङका किसान

दाङ । दाङमा धान काटेर घरमा भण्डारण गर्ने उपयुक्त ठाउँ नभएपछि स्थानीय किसान सस्तो मूल्यमै धान बिक्री गर्न बाध्य भएका छन्। तिहार मनाउन खर्च व्यवस्थापन गर्नुपर्ने बाध्यता र भण्डारणको समस्याका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले निर्धारण गरेको भन्दा निकै कम मूल्यमा उनीहरूले धान बेचिरहेका हुन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षका लागि मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको मूल्य ३ हजार ८६० रुपैयाँ निर्धारण गरेको छ। तर दङ्गीशरण गाउँपालिका–३ रावत गाउँकी किसान माइली चौधरीका अनुसार सरकारी मूल्यभन्दा ५०० देखि ६०० रुपैयाँसम्म सस्तोमा व्यापारीहरूले धान खरिद गरिरहेका छन्।

आफ्नो बाध्यता पोख्दै चौधरीले भनिन्, ‘यस वर्ष धान प्रशस्त फलेको छ। खाद्यले उत्पादित धान कहिल्यै खरिद गर्दैन, घरमा भण्डारण गर्ने ठाउँ पनि छैन। तिहारको खर्च जुटाउन पनि गाह्रो भएकाले गाउँका व्यापारीलाई प्रतिक्विन्टर ३ हजारका दरले बिक्री गरिरहेका छौँ।’ सरकारले प्रत्येक वर्ष महँगो मूल्यमा धान खरिद गर्ने सुने पनि अहिलेसम्म यहाँका कुनै किसानले सो मूल्य पाउन नसकेको उनको दाबी छ।

स्थानीय सरकारले चासो नदिँदा व्यापारीलाई सस्तो मूल्यमा धान बेच्नुपरेको सोही गाउँका अर्का किसान नवीन अधिकारीले बताए। मौसम बिग्रेका कारण आफूसहित गाउँका धेरै किसानले बिहीबार रातभरि थ्रेसर प्रयोग गरी तयार पारेको धान खेतबाटै प्रतिक्विन्टल ३ हजार १०० रुपैयाँका दरले बेचेको उनले जानकारी दिए। वर्षभरिको मिहिनेतमा किसानले घाटा सहनुपरेको भन्दै अधिकारीले अधिकांश मध्यम र निम्नस्तरका किसानले चाडपर्वको खर्च जुटाउन धान बेच्न हतारिएको बताए। सरकारले समर्थन मूल्य तोके पनि व्यापारीले मनपरी भाउ राख्दा किसान मर्कामा परेको उनको भनाइ छ।

दाङको देउखुरी क्षेत्रका अधिकांश किसानले दसैँअगाडि नै धान भित्र्याइसकेका छन् भने दाङ उपत्यकाका किसानले अहिले धान काट्ने र भित्र्याउने काम गरिरहेका छन्।

सरकारी तवरबाट भने धान खरिदको कोटा नतोकिँदा ढिलाइ भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरका निमित्त प्रमुख शक्तिराम डाँगीले केन्द्रबाट धानको मूल्य निर्धारण भए पनि खरिद कोटा अहिलेसम्म नआएको जानकारी दिए। केन्द्रबाट कोटा तोकिएको पत्र आउनासाथ खरिद प्रक्रिया सुरु गर्ने उनले बताए। गत वर्ष देउखुरी क्षेत्रका तीन स्थानीय तहको समन्वयमा धान खरिद गरिएको स्मरण गराउँदै डाँगीले कोटा थोरै हुँदा सबै पालिकामा पुग्न कठिन हुने स्पष्ट पारे। जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार दाङमा कुल ७४ हजार ३३६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३७ हजार २२५ हेक्टरमा धानखेती गरिएको छ।

यसैबिच बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातका कारण जिल्लाको मौसम प्रतिकूल बनेपछि खेतमा काटेर राखिएको धान नोक्सान हुने चिन्ता बढेको छ। केही दिनदेखि किसानले धान काटेर सुरक्षित ठाउँमा राख्ने प्रयास गरे पनि सबैतिर भित्र्याउन सकिएको छैन। हिजो बिहानैदेखि जिल्लामा निरन्तर झरी परिरहेकाले किसानहरू थप समस्यामा परेका छन् । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update