काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध गरेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् ।
सुन्दरीजल हुँदै गोसाईकुण्ड, हेलम्बुजस्ता गनतव्यहरूमा सहजै जान सकिने मोटर बाटो एक हप्तादेखि आयोजनाले रोक्दा आवागमनमा समस्या भएको स्थानीयवासी सुशील सिम्खडाले जानकारी दिए । सुन्दरीजलस्थित महाँकाल खण्डमा संरचना बनाउन भनी मेलम्ची खानेपानी आयोजनाले सडक अबरोध गरेको हो । दैनिक सयौँ मानिसले प्रयोग गर्ने उक्त मोटर बाटो परम्परागत रूपमा प्रचलनमा रहेको मुख्य मार्ग हो ।
आयोजनालले स्थानीय नागरिक, स्थानीय सरकार तथा कुनै पनि तहका जनप्रतिनिधिहरूसँग आवश्यक परामर्श एवं समन्यव नगरिकनै बलजफती बाटो बन्द गरेको उनले बताए । जसका कारण गोकर्णेश्वर नगरपालिका वडा नं. १ का स्थानीयवासीलाई आफ्नै गाउँमा आवतजावत गर्न असहज भएको छ ।
मेलम्ची आयोजना सुरु हुनु अगावै स्थानीय नागरिकले अत्यन्तै दुःखका साथ निर्माण गरेको सुन्दरीजलबाट मूलखर्क तथा ओख्रेनी जोड्ने उक्त मोटरबाटो परम्परागत रूपमा, लास बोक्ने, कृयापुत्रीले हिँड्ने सहज र छोटो बाटो समेत हो ।
मेलम्ची खानेपानी आयोजनाको आफ्नै दस्तावेजमा समेत उक्त बाटोलाई मूल बाटोकै रूपमा अभिलेखीकरण गरिएको छ । मेलम्ची आयोजना सुन्दरीजल साइटका इञ्जिनीयर मनोज यादव मुआब्जा दिइसकेको सडक भएकाले नापी र मालपोतबाट मेलम्चीका नाममा जग्गा आएकाले नै सडक अवरुद्ध गरिएको बताउँछन् । कालोपत्र गरिएको सडकका कारण मेलम्ची आयोजनाका काममा ढिलाइ भएका कारण पनि सडक अवरुद्ध गर्न बाध्य हुनुपरेको उनले सुनाए । रासस







