Khabar Out
दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती। दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ। दसैँ बिदाका कारण यस बिचमा विभिन्न सङ्घसंस्थाका रक्तादनका कार्यक्रम नभएका कारण रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी हेटौँडा, रक्त सञ्चार केन्द्रका प्रमुख टङ्क दाहालले जानकारी दिए।

रगत अभाव भएसँगै केन्द्रका तर्फबाट सङ्घ संस्थासँग रक्तदानका लागि आह्वानसमेत गरिएको छ। संस्थाको आह्वानसँगै आज चुरियामाईमा गरिएको रक्तदानमा २१ युनिट रगत सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । रगत अभावलाई दृष्टिगत गर्दै हिमालयन राइडर्स सोसाइटी, हेटौँडाले रेडक्रस हेटौँडा शाखासँगको समन्वयमा यही कात्तिक १२ गते बिहीबार बिहान ७ बजे हेटौँडा मेनरोडस्थित बुद्धचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको सोसाइटीका अध्यक्ष राजु थापामगरले जानकारी दिए।

रगत अभावको समस्यालाई केही हदसम्म कम गर्न सकिन्छ भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको बताउँदै उहाँले रक्तदानका लागि सबैमा अनुरोध गरे। रक्त सञ्चार केन्द्र प्रमुख दाहालका अनुसार हेटौँडामा दैनिक १० देखि १५ युनिट रगत आवश्यक हुने गरेको छ । हेटौँडामा ५५ जना नियमित डाइलोसिस गर्नुपर्ने बिरामी रहेका कारण उक्त युनिट रगत अपरिहार्य हुने गरेको उनले बताए । रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३  २०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update