Khabar Out
कसले सुनिदिने किसानका पीडा ?

सर्लाही। हरिवन नगरपालिका–४, सासापुरका महमद अकबर अन्सारी उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश जानुभन्दा आफ्नै माटोमा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । बैदेसिक रोजगारीका लागि कतार र साउदी अरेबिया पुगेका अन्सारी अहिले आफ्नै गाउँमा व्यावसायिक गोलभेँडा खेती गरिरहेका छन्।

पछिल्लो ८ वर्षदेखि व्यावसायिक रूपमा गोलभेँडा खेती गर्दै आएका उनले प्रशस्त आम्दानी पनि गरिरेका छन्। उनले यस वर्ष पनि सात बिघा क्षेत्रफलमा गोलभेँडा लगाएका छन्। अन्सारीको अनुभव केवल निर्वाहमुखी खेतीको कथा होइन । व्यावसायिक खेतीबाट मनग्य आम्दानी गरेको उनको दाबी छ।

उनका अनुसार गते वर्ष १० बिघामा गोलभेँडा खेती गरेर रु ७५ लाखभन्दा बढीको उत्पादन भयाे। त्यसबाट आफूले रु ५० लाखभन्दा बढी मुनाफा आर्जन गरी घरखर्चका साथै घरको तल्ला थप्नेदेखि र जग्गा जोड्न सफल भएको बताए। अन्सारीको कथा एउटा महत्वपूर्ण प्रश्नको उत्तर पनि हो। यदि कृषि ज्ञान, बजार, प्रविधि, लगानी र व्यवस्थापनको उचित व्यवस्थापन भयो भने नेपालमै कृषिबाट सम्मानजनक आम्दानी गर्न सक्छन्।

अर्का किसान बागमती नगरपालिका–११, का नीलकण्ठ देवकोटाले २५ बिगाहा क्षेत्रमा व्यावसायिक उखु खेती गरेका छन्। उनले आफूसँग भएको बाहेक झण्डै २० बिगाहा बढी खेत भाडामा लिएर खेती गरिरहेका छन्।

प्रविधिको प्रयोगबाट सहज रूपमा खेतीपाती गर्न सकिएको उनको भनाइ छ। त्यसबाट मनग्य आम्दानी पनि भइरहेको बताए। तर समयमा रासायनिक मलखाद र बीउबिजनको अभाव हुने गरेको उनको अनुभव छ।

सर्लाहीमा भइरहेको कृषि कर्म र त्यसका अनुभवले नेपालको कृषि समस्यालाई चित्रित गरेको छ । एकातिर हरिवनका अन्सारी तथा बागमतीका देवकोटाको जस्तै सफलता कमै किसानहरूले पाएका छन् । बरहथवा नगरपालिका–५, हात्तीडण्डाका किसान मुकेश महतो अत्यधिक वर्षा र सस्तो बजार मूल्यका कारण हरियो तरकारी खेतीमा लागत समेत उठाउन मुस्किल परेको गुनासो गर्छन्। हरियो तरकारी सञ्चिती गरेर राख्न नसकिने भएकाले मूल्य घटेको समयमा पनि लगानी पनि नउठ्ने मूल्यमा बेच्नुपरेको उनको भनाइ छ।

बीउ, मल, विषादी, सिँचाइ, मजदुर, ढुवानी र अन्य खर्चको तुलनामा उत्पादित तरकारीको मूल्य नपाउँदा किसान मर्कामा परेको उनको दुःखेसो छ । कहिले तरकारीको मूल्य आकासिँदा उपभोक्ता महँगीको मारमा पर्ने गरेका छन् भने कहिले मूल्य घटेर किसानले उत्पादन गरेको तरकारी खेतबाट टिपेर बजारसम्म पुर्‍याउन समेत ऋण खोज्नुपर्ने बाध्यता छ।

लालबन्दीको थोक तरकारी बजार क्षेत्र हरेक दिन–बिहान झिसमिसेदेखि नै किसान र व्यापारीले भरिभराउ देखिन्छ। यहाँबाट दैनिक करोडौँको तरकारी विभिन्न सहरका लागि रमाना हुन्छन्। विवरणअनुसार किसानले गोलभेँडा, बोडी, सिमी, फूलकोबी, बन्दा, लौका, भन्टा, करेला, काँक्रो, खोर्सानीलगायत विभिन्न तरकारी बिक्री गर्दै आएका छन्।

लालबन्दी, हरिवन, बागमती, ईश्वरपुर, बरहथवा र चन्द्रनगरलगायत क्षेत्रका किसानका लागि तरकारी खेती आम्दानीको महत्वपूर्ण स्रोत बनेको छ । किसानले उत्पादन गरेको लगानीलाई सुनिश्चित गर्दै स्वचालित मूल्य प्रणाली लागू गरिए किसानको उत्पादनले राम्रो मूल्य पाउने किसानहरूको भनाइ छ। छिमेकी देश भारतबाट खुला सीमा हुँदै नेपाल भित्रने फलफूल र तरकारीका कारण स्थानीय उत्पादन सधैँ चपेटामा पर्ने गरेको हरिवन नगरपालिका–४, का किसान मुखचन्द्र महतोले बताउँछन्। किसानले उत्पादन गरेको सामाग्रीले लागतमा भन्दा विचौलियाको तजबिजमा मूल्य पाउनु दुर्भाग्य पूर्ण रहेको उनको गुनासो छ।

किसानले सबैभन्दा ठुलो जोखिम लिएर कृषि उत्पादन गरे पनि बजारमा मूल्य निर्धारण गर्ने शक्ति उसको हातमा हुँदैन । किसानले वर्ष दिन लगाएर उत्पादन गर्छन् तर, त्यसको लागतलाई आधार मानेर मूल्य निर्धारण हुँदैन । सधैँ सस्तोमा उखु बेचेर महङ्गोमा चिनी किनेर उपभोग किसानले गर्नुपर्छ । हरेक वर्ष खेतीको लागत बढिरहेको छ । मलखाद सरकारले दिँदैन, कालोबजारीसँग महङ्गोमा किन्नुपर्छ । त्यसमा वर्षौं उधारोमा बेच्नुपर्दा ठूलो नोक्सानी ब्यहोर्नु परेको यहाँका किसानको अनुभवले देखाउँछ।

कृषि सुधारको अर्थ उत्पादन वृद्धि मात्र नभई किसानको आम्दानी स्थिर बनाउनु पनि हो। यसका लागि कृषि उपज उत्पादनसँगै चिस्यान भण्डारण, प्रशोधन, बजार सूचना, बीमा, सहकारी र मूल्य नीति विकास पनि गर्नुपर्छ। खाद्य सुरक्षा भनेको गोदाममा अन्न भण्डारण हुनुलाई मात्र मान्न सकिन्न । अन्न उत्पादन गर्ने किसान, उत्पादन गर्ने जमिन र उत्पादनलाई बजारसम्म पुर्‍याउने प्रणाली सुरक्षित भएमात्र खाद्य सुरक्षा सुरक्षित रहन्छ ।

पछिल्लो समय खेतीलाई कम प्रतिष्ठाको पेशा बनाएका कारण पनि किसानहरू विस्थापित बन्दै गएका छन्। कृषिबाट हुने आम्दानी अनिश्चित भएका कारण यस पेसा कम प्रतिष्ठाको विषय बनेको छ। फसलको उत्पादन लागत धेरै र मुनाफा कम हुँदा यस्तो भएको हुनसक्छ।

मल, बीउ र सिँचाइ जस्ता आधारभूत आवश्यक र प्राविधिक साधनको उपलब्धता र मूल्यमा किसानले झेल्नु परेको समस्या पनि महत्वपूर्ण कारण बनेको छ। बजारको अस्थिर मूल्यका कारण ब्यहोर्नु परेको घाटा, कृषि भूमि खण्डीकरण भइरहेको कारण समेत यो पेशाप्रतिको दृष्टिकोण परिवर्तन हुँदै गएको हो।

युवा पुस्ताले कृषिलाई आधुनिक व्यवसायका रूपमा भन्दा परम्परागत श्रमका रूपमा बढी बुझेका कारण कृषिमा उनीहरूको वितृष्णा बढ्दै गएको स्पष्ट छ। ‘उत्तम खेती, माध्यम ब्यापार र निकृष्ट जागिर’ यो नेपाली समाजमा केही दशक पहिलासम्म निकै चर्चित कथन थियो तर, अहिले यो कथन व्यवहारतः विलुप्त जस्तै भइसकेको छ।

पुर्ख्याैली पेसा छाडेर विदेशी भूमिमा सोही पेशाको लागि किन प्रोत्साहित गरियो ? आफ्नो देशमा यही पेशा निकृष्ट अनि कृषि क्षेत्रमा काम गर्न कोरिया, जापान, इजरायल जान किन तयार छन् युवा ? विदेशमा पुगेर आफ्ना सन्तानले खेतीपाती गरेको पशु खोरमा काम गरेको देख्दा यहाँ आमाबुबालाई किन कुनै पछुतो छैन् ? भन्ने प्रश्न अहिले पेचिलो बनेको छ ।

फरक यति हो, यहाँ हलो जोत्नु पर्ला भनेको सन्तानले विदेशमा ट्रयाक्टरले जोत्यो । प्रविधिसँग जोडियो । यहाँ पनि अब विस्तारै कृषि, पशुपालनमा प्रविधिको विकास हुन थालेसँगै युवा विदेश पलायनलाई रोक्न ठोस प्रयासको खाँचो भएको छ।

सामाजिक धारणा, कृषि क्षेत्रमा लगानी, अनुसन्धान, प्रविधि र बजार व्यवस्थापनबीच पर्याप्त समन्वय हुन नसकेका कारण कृषिप्रतिको दृष्टिकोण ओझेलमा परेको विज्ञहरूको धारणा छ। नेपाली समाजको जीवनशैली, संस्कृति र अर्थतन्त्रको आधारमा कृषि जोडिएको छ।

तर कृषिप्रधान भनिएको यही देशमा खेतीपाती कम्जोर र दुर्जनले गर्ने पेशाका रूपमा चित्रण हुँदै गयो। कृषि पेसा पुस्तान्तरण गर्न नखोज्दा र परम्परागतबाट व्यावसायिकतातर्फ लैजान नसक्दा कृषि क्षेत्र उपेक्षामा पर्दै गएको जानकारहरू बताउँछन्।

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update