भक्तपुर । अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधिको निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक लागू गरेको सूचना प्रणालीलाई देशव्यापी विस्तार गरेको छ ।
विभागले आज नगरकोटमा आयोजना गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा विभागका निर्देशक शिव लम्सालले नेपाल भित्रिएका विदेशी नागरिक नफर्केसम्म उनीहरू कहाँ गए, कहाँ बसेलगायतका विवरण लिनेगरी विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली देशव्यापी रूपमा लागू गरिएको बताए ।
विदेशी पर्यटक नेपाल प्रवेश गरेपछि विमानस्थलमा आएको र विमानस्थलबाट फर्केको मात्र रेकर्ड राख्ने गर्दा नफर्किएका विदेशी कहाँ गए, के गरिरहेका छन् भन्ने जानकारी नहुँदा कैयौँ विदेशी नागरिक अपराधमा संलग्न रहेको पाइएको बताए ।
उनका अनुसार सन् २०२५ मा कानुन उलङ्घन गर्ने ४५९ विदेशी नागरिकलाई देश निष्कासन गरिएकामा २०२६ जनवरी १ देखि अक्टोबर १० सम्म ५४० जना विदेशीलाई देश निष्कासन गरिएको छ ।
उनले अध्यागमनको कानुन उल्लङ्घन गरेको, प्रवेशाज्ञाको उद्देश्य विपरीत बसेको, देशको कानुनमा दोषी ठहर भएको र विभिन्न गैरकानुनी गतिविधिमा संलग्न रहेका ६४ जनालाई सन् २०२५ मा फिर्ता पठाइएको बताए ।
यस्तै, ६१ जनालाई २०२६ अक्टोबर १० सम्म कानुन उलङ्घन गरेको पाइएपछि फिर्ता पठाइएको छ । विभिन्न प्रवेशाज्ञामा नेपाल भित्रिएका विदेशी नागरिक अध्यागमन कानुन विपरीत अरू नै गतिविधिमा संलग्न हुन नदिन निगरानी, नियमन, व्यवस्थापन, सुरक्षा तथा यात्रा सहजीकरण गर्न यो प्रणाली लागू गरिएको उहाँले बताउनुभयो ।
सन् २०२५ जनवरी १ देखि काठमाडौँ उपत्यकाका तारे होटल, ट्राभल एजेन्सी, मनि एक्स्चेन्जलगायतमा यो प्रणाली लागू गरिएको भए पनि अहिले भने देशभर लागू गरिएको विभागका निर्देशक लम्सालले बताए ।
नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विभागले यो प्रणाली लागू गरिएको उनको भनाइ छ ।
नेपाल भित्रिएका विदेशी नागरिक कुन होटलमा बसेको, उनीहरू कुन कुन ठाउँमा घुमेको, कहाँ कहाँ पुगेको, विपद्का समयमा बेपत्ता भए भने कुन ठाउँमा पुगेर हराए, प्रवेशाज्ञा कानुनअनुसार भए/ नभएको लगायत निगरानी गर्न सकिने बताए ।
विभागका निर्देशक अमरदीप सुनुवारले यो प्रणालीलाई सेवा प्रदायक संस्था, होटल व्यवसायी, आन्तरिक वायु सेवा प्रदायक, ट्रेकिङ एजेन्सी, सार्वजनिक यातायात, पर्वतारोहण एजेन्सी, टुर एण्ड ट्राभल ऐजन्सी, टेलिकम सेवा प्रदायक, बैंक तथा वित्तीय संस्था, टुरिस्ट गाइड, पर्यटक प्रहरीलगायतले प्रत्यक्ष रूपमा विभागको प्रणालीमा सूचना राख्नुपर्ने व्यवस्था गरिएको छ ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामा, उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष कृष्णमरारी न्यौपाने, नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, क्रियाशील पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरी, नगरकोट नाल्दुम पर्यटन प्यवसायी समितिका सचिव प्रदीप अधिकारी, होटल चौतारीका सञ्चालक बद्री माकलगायतले विभागले उक्त प्रणालीलाई अनिवार्य रूपमा देशभर लागू गर्नुपर्नेमा जोड दिए । रासस







