बर्दिया। बर्दियाका देसाउरी थारू बस्तीमा परम्परागत हुर्डुङग्वा नाचको रौनक छाएको छ।
साँझ पर्नासाथ गाउँका बडघर वा मटावाँको घरआँगनमा भेला हुने स्थानीय मादल र मञ्जिराको तालमा गीत गाउँदै हुर्डुङग्वा नाच्न थालेका छन्। देसाउरी थारू समुदायमा दसैँको सांस्कृतिक पहिचानका रूपमा रहेको हुर्डुङग्वा नाच हरेरी पूजा गरेपछि सुरु हुने परम्परा छ।
दसैँका अवसरमा गाउँका महिला तथा पुरुष सामूहिक रूपमा सहभागी भएर नाच्ने र गीत गाउने गर्छन्। बर्दियामा देसाउरी थारू समुदायको बाक्लो बसोबास रहेकाले यहाँका गाउँमा हुर्डुङग्वा नाचको विशेष रौनक देखिन्छ।
गुलरिया नगरपालिका–१२ भैसाही गाउँमा दसैँ नजिकिएसँगै हरेक दिन राति हुर्डुङग्वा नाच भइरहेको स्थानीय तेतिराम थारुले बताउनुभयो । “दसैँ घरआँगनमै आइसकेकाले गाउँभरिका मानिस मिलेर सामूहिक रूपमा नाचिरहेका छौँ,” उनले भने। हुर्डुङग्वा नाच सुरु गर्दा लचारी गीत गाउने चलन छ । ‘नदियाके तिरे रे तिरे धन बसवरिया हो, धन बसवरिया । वही बाँस काटि रे कै पिजरा बनावय हो’ जस्ता गीतको भाकाबाट नाच सुरु गरिन्छ।
दिनभरि खेतबारीको काम सकेपछि साँझ गाउँले भेला भएर रातिसम्म गीत गाउने र नाच्ने गर्छन्। बाँसगढी नगरपालिका–६ मोतिपुरमा पनि दैनिक हुर्डुङग्वा नाच भइरहेको स्थानीय रामकिसुन थारुले बताए। नाचलाई व्यवस्थित र आकर्षक बनाउन मादल मर्मत गर्ने, गीत गाउने व्यक्ति छनोट गर्ने तथा नाच्ने र मादल बजाउने टोली तयार पार्ने काम भइरहेको छ।
हुर्डुङग्वा नाचमा दुई समूह बनाएर गीत गाउने र नाच्ने गरिन्छ । पुरुष–पुरुष वा महिला–पुरुषका समूह बनाएर नाचिने यस परम्परामा नाच टोलीका मुख्य अगुवालाई ‘मोहिया’ र दोस्रो अगुवालाई ‘पिछगुन्या’ भनिन्छ ।
नाच्ने पुरुषले महिलाको भेषमा ‘बठिन्या’ को भूमिका निर्वाह गर्ने परम्परा छ।
एकातिर मञ्जिरा र अर्कोतिर मादल बजाइन्छ । दुवै समूहले पालैपालो गीत दोहोर्याउँदै लय र तालमा सामूहिक नृत्य प्रस्तुत गर्छन्। हुर्डुङग्वाका गीतलाई समय र अवसरअनुसार विभिन्न प्रकारमा वर्गीकरण गरिएको थारू संस्कृतिका जानकार प्रशुराम थारुले बताए।
उनका अनुसार दिउँसो गाइने गीतलाई ‘दिनगित्वा’, राति गाइनेलाई ‘कहरा’ र बिहान गाइनेलाई ‘बिहगरा’ भनिन्छ। यसबाहेक लचारी, फूलवार, चुदरी बिलाप र महिरावानजस्ता गीत गाउने चलन छ । यी गीत रामायण तथा शिव–पार्वतीको महिमासँग जोडिएका छन्।
बारबर्दिया बरघर सञ्जालका अध्यक्ष बहादुर बैरागी थारुका अनुसार भदौमा गरिने हरेरी पूजादेखि सुरु हुने हुर्डुङग्वा नाच दसैँ सकिएको करिब एक सातासम्म चल्ने परम्परा छ।
सामान्य अवस्थामा राति नाचिने यो नाच नवमीदेखि दसैँसम्म पनि नाच्ने गरिन्छ। देसाउरी थारू समुदायको बसोबास बर्दियासँगै बाँके, दाङ, कैलाली र कञ्चनपुरमा छ ।
गीत र नाचको मूल परम्परा उस्तै भए पनि गाउँठाउँ अनुसार नाच्ने शैलीमा केही भिन्नता रहेको थारुले बताए। मादल र मञ्जिराको तालमा सामूहिक गीतसँगै प्रस्तुत गरिने हुर्डुङग्वा नाच थारू समुदायको मौलिक सांस्कृतिक सम्पदा हो ।






