Khabar Out
ह्वीलचेयर सेवाः अन्तरराष्ट्रिय हवाईयात्राको साथी

काठमाडौँ । अन्तरराष्ट्रिय विमानस्थलमा ‘ह्वीलचेयर’ सेवा सुरु भएपछि ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अशक्त र अङ्ग्रेजी भाषा नबुझ्नेलाई यात्रा गर्न सहज भएको छ ।

विशेषगरी पहिलोपटक अन्तरराष्ट्रिय यात्रामा निस्कने सर्वसाधारण यात्रुलाई ‘ह्वीलचेयर’ सेवाले आवश्यक सहजीकरणको व्यवस्थासहित राहत प्रदान गरेको छ । सेवा शुल्कबापत केही बढी रकम व्यहोर्नुपर्ने भए पनि एक्लै विदेश भ्रमणमा निस्कने आमसर्वसाधारणका पक्षमा ‘ह्वीलचेयर’ सेवा महत्वपूर्ण एवं उपयोगी देखिएको छ ।

अन्तरराष्ट्रिय यात्राका क्रममा विमानस्थलको तोकिएको कक्षसम्म पुग्न, ‘ट्रान्जिट’ अवधि व्यतीत गर्न, नयाँ विमानसम्म पुगी टिकटअनुसारको सिटमा बस्न, गन्तव्यस्थलमा रहेका सम्पर्क व्यक्तिसँग भेट गर्न तथा आइलाग्ने अन्य समस्याको समाधानका लागि यसले सहज र झन्झटमुक्त बनाएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘ह्वीलचेयर’ सेवा प्रयोग गर्ने यात्रुहरूले उडिरहेको अवस्थामा आकाशमा हवाईजहाज देखेको तर अहिलेसम्म यात्रा नगरेको अवस्थामा विदेश जाने क्रममा मनमा अनेकौँ कुरा खेले पनि आफूले चिनेजानेका अनपढ एवं कमजोर व्यक्ति यसैगरी विदेश गई फर्केको देखेकाले समस्या नआउने विश्वास व्यक्त गरे ।

यसै सन्दर्भमा आज मलेसिया जान लागेका ७८ वर्षीय भक्तमान श्रेष्ठले पनि ह्वीलचेयर सेवा पाएपछि विमानस्थलभित्रका विभिन्न प्रक्रिया पूरा गर्न सहज भएको बताए ।

उनका अनुसार विमानस्थलमा चेक–इन, सुरक्षा जाँच तथा बोर्डिङ गेटसम्म पुग्दा हिँड्नुपर्ने दूरीका कारण ज्येष्ठ नागरिकलाई समस्या हुने गरेकामा ह्वीलचेयर सेवाबाट राहत मिलेको छ । “ह्वीलचेयर सेवा पाएपछि विमानस्थलमा यात्रा गर्दा हुने शारीरिक कठिनाइ कम भएको छ । विमानस्थलभित्र विभिन्न प्रक्रिया पूरा गर्न एक स्थानबाट अर्को स्थानमा जानुपर्ने भएकाले यो सुविधाले हामीलाई निकै राहत मिलेको छ”, उनले भने ।

त्यस्तै, सरस्वती लोहनीले अष्ट्रेलियामा बस्ने छोरा, बुहारीले टिकट पठाइदिएपछि मलेसिया हुँदै त्यसतर्फ जान लागेको उल्लेख गर्दै आफूजस्तै पहिलोपटक विदेश गएका साथीहरूको सल्लाहअनुसार ‘ह्वीलचेयर’ सेवा प्रयोग गरेको बताइन् । अहिलेसम्म जहाज नचढेको र विदेश पनि नगएको जानकारी दिँदै उनले भनिन्, “विदेशी भाषा जान्दिनँ, एक्लै छु, जहाजको यात्रा पहिलो हो, तर पनि मनमा डर छैन । मजस्ता अरू पनि यसरी नै विदेश गई फर्केका छन् । छोरा, बुहारी नियमित सम्पर्कमै छन्, ढुक्क भएर उड्दैछु, बाँकी भगवानको कृपा !”

नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत विमानस्थलमा ‘इन्टर्नसिप’ गर्दै आएकी रिया राजथलाका अनुसार ‘ह्वीलचेयर’ सेवाले ज्येष्ठ नागरिकलाई आफन्त वा अन्य व्यक्तिको सहारामा मात्र हिँड्नुपर्ने बाध्यता पनि कम गरेको छ ।

“ज्येष्ठ नागरिकलाई लामो दूरी हिँड्नुपर्ने तथा लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्थामा ‘ह्वीलचेयर’को सुविधा निकै उपयोगी हुने गरेको छ । यसबाट ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका यात्रु खुसी हुनुहुन्छ”, उनले भनिन् ।

विमानस्थल कार्यालयका अनुसार ज्येष्ठ नागरिकका अतिरिक्त गर्भवती, घाइते तथा शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका यात्रुले पनि आवश्यकताअनुसार ह्वीलचेयर सेवा लिन सक्ने व्यवस्था छ । यात्रुको सहजता र पहुँचलाई ध्यानमा राख्दै विमानस्थलमा उपलब्ध सहायता सेवालाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको कार्यालयले जनाएको छ ।

चाडपर्व नजिकिँदै जाँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको आवागमनसमेत बढ्दै गएको र स्वदेश तथा विदेश जाने यात्रुको चाप बढिरहेको समयमा ज्येष्ठ नागरिक तथा विशेष सहायता आवश्यक पर्ने यात्रुलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउनुपर्ने अर्की यात्रु दीलकुमारी डङ्गोलको भनाइ छ ।

यसैगरी, नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत विमानस्थलमा ‘इन्टर्नसिप’ गर्दै आएकी सालु श्रेष्ठले ‘ह्वीलचेयर’लगायतका आधारभूत सहायता सेवा सहज, व्यवस्थित र प्रभावकारी हुँदा यात्रुलाई राहत मिलेको बताइन् । विमानस्थलमा नागरिक सहायता कक्षदेखि ‘ह्वीलचेयर’को व्यवस्था गरिएकाले जहाजको सिटसम्म पुग्न धेरै हिँड्नुपर्ने र लाइन बस्नुपर्ने झन्झट हटेको उनको भनाइ छ ।

विमानस्थलका अनुसार पछिल्ला दिनमा विशेषगरी पढाइ तथा रोजगारीका सिलसिलामा मुलुकका युवापिँढीको विदेशिने क्रम बढिरहेका सन्दर्भमा आफ्ना बाबुआमा तथा अभिभावकलाई एकपटक विदेश घुमाउने क्रम बढेसँगै ‘ह्वीलचेयर’ सेवाको प्रयोग पनि बढेको छ । रासस

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update