Khabar Out
धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अद्भूत सङ्गम महावुधाम

दैलेख । समुद्र सतहदेखि चार हजार १६८ मिटरको उचाइमा अवस्थित महावुधाम केवल एउटा भौगोलिक लेक मात्र होइन, यो हजारौँ श्रद्धालुहरूको अगाध आस्था, आत्मीय शान्ति र प्राकृतिक सौन्दर्यको अद्वितीय सङ्गम हो । दैलेखको महाबु गाउँपालिका–६ र कालीकोटको महावै गाउँपालिका–४ को सिमानामा पर्ने यो पावन धाममा हरेक वर्ष जनै पूर्णिमाको सेरोफेरोमा विशाल धार्मिक मेला लाग्ने गर्छ ।

हातमा पवित्र त्रिशूल बोकेर, मुखमा ‘हर हर महादेव’ को उच्च ध्वनि गुञ्जाउँदै र लेकाली उकालोको कठिन यात्रा भुल्दै महावु लेक उक्लने आन्तरिक तथा बाह्य तीर्थ यात्रीहरूको लर्कोले हरेक वर्ष जनै पूर्णिमाका बखत सिङ्गो लेक क्षेत्र उत्सवमय बन्छ । दैलेख, सुर्खेत, कालीकोट, जुम्ला, जाजरकोट, नेपालगञ्जदेखि छिमेकी मुलुक भारतबाट समेत हजारौँको सङ्ख्यामा आउने भक्तजनको उपस्थितिले महावुधामलाई एउटा जीवन्त र प्रखर आध्यात्मिक पर्यटकीय तीर्थस्थलका रूपमा स्थापित गरेको छ ।

महावुधाममा साँचो मनले एउटा मात्र वर मागे पनि जीवनका सबै मनोकांक्षा पूरा हुने, सन्तान नहुनेले सन्तान लाभ गर्ने र महावुको दर्शन मात्रले पाप पखालिने अटल जन विश्वास रहिआएको छ । जनै पूर्णिमाको अघिल्लो दिन यहाँ मुख्य पूजाअर्चना हुने गर्दछ । महावुधामको महिमा र अलौकिक शक्ति केवल पौराणिक कथामा मात्र सीमित छैन । यहाँ आउने भक्तजनले आफ्नै जीवनमा अनुभूति गरेका चमत्कारिक यथार्थहरूले यसको साख झनै बढाएको छ ।

नारायण नगरपालिकाका गणेश शर्मा १४ वर्षदेखि महावुधामको दर्शन गर्न थालेको स्मरण गर्छन् । अहिले ४३ वर्षको उमेरमा पुगिसक्दा पनि उनले निरन्तर महावुको यात्रा गरिरहेका छन् । शर्माले भने, “महावुधाम पुगिसकेपछि मनका सम्पूर्ण तनाव, थकान र चिताहरू क्षण भरमै गायब हुन्छन् । त्यहाँ पुग्दा पाइने आत्मिक शान्ति शब्दमा व्यक्त गर्न सकिँदैन । अहिलेसम्म मैले महावुधामसँग मनले जे–जे सोचेर वर मागेँ, ती सबै पूरा भएका छन् ।”

नारायण नगरपालिका–६ का अमृत न्यौपानेको कथा पनि उस्तै छ । एघार वर्षदेखि निरन्तर महावुधामको यात्रा गरिरहेका उनी भन्नुन्छन्, “मैले सुरुमा महावुधाममा जुन भाकल र प्राथना गरेको थिएँ, त्यो पूरा भयो । मागेको कुरा पूरा भएपछि म हरेक वर्ष यहाँ आउने गर्छु ।” भारतको जमुनाहदेखि चीनको नाग्चे नाग्ला जोड्ने रणनीतिक महत्वको त्रिदेशीय सञ्जालअन्तर्गत पर्ने महावु मार्ग कर्णाली राजमार्गभन्दा करिब ७९ किलोमिटर छोटो मानिन्छ । कडा चट्टानी भूगोल र निर्माण कार्यको सुस्तताका कारण करिब ४० किलोमिटर क्षेत्रको स्तरोन्नति अझै राम्रो बाटो बन्न सकेको छैन । पदमार्गमा डिभिजन वन कार्यालय दैलेख र स्थानीय उपभोक्ता समितिको सहकार्यमा २३ लाख १० हजार रुपैयाँको लागतमा निर्माण गरिएको दुई किलोमिटर पदमार्ग र ७७७ वटा ढुङ्गे सिँढीले पैदल यात्रा सहज बनाएको छ ।

कालीकोट जिल्लाको महावै गाउँपालिकाले धाम क्षेत्रको व्यवस्थापन र सरसफाइको जिम्मेवारी सम्हाल्दै आएको छ । कालीकोटको महावै गाउँपालिकाका अध्यक्ष ख्याम सिंहले धाममा आउने तीर्थयात्रीहरूको व्यवस्थापन, मेलापछिको सरसफाइ र भक्तजनको आवश्यकता पूर्ति गर्ने सम्पूर्ण जिम्मा महावै गाउँपालिकाले लिएको बताए । महावुधामलाई केवल पूजा आजामा मात्र सीमित नराखी समग्र कर्णालीको समृद्धिको ढोकाका रूपमा हेर्नुपर्ने बहस पनि सुरु भएको छ ।

महावुधामको समग्र विकास र धार्मिक पर्यटनको प्रवर्द्धनका लागि स्थानीय तहहरूले निरन्तर सहकार्य गर्दै आएको महाबु गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले बताए । उनले भने “महावुधाम केवल एउटा धार्मिक गन्तव्य मात्र होइन, यो कर्णालीको स्वाभिमान र हामी सबैको साझा आस्थाको धरोहर हो ।” महावु, नौमूले र महावै गाउँपालिका मिलेर यस क्षेत्रको पूर्वाधार विकास गर्दै महावुलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरको उत्कृष्ट धार्मिक पर्यटकीय केन्द्र बनाउने लक्ष्य रहेको उनले बताए।

पतञ्जली योग सेन्टर दैलेखका गुरु तथा सामाजिक अभियन्ता शङ्कर थापाले महावुधामको पर्यटकीय र आर्थिक सम्भावनाबारे प्रकाश पार्दै भने, “महावुधामलाई व्यवस्थित बनाउँदै महावु हुँदै उपल्लो कर्णाली जोड्ने सडक मार्गलाई पूर्ण रूपमा सञ्चालन गर्न सकेको खण्डमा यो क्षेत्र धार्मिक थलो मात्र नभई ठूलो पर्यटकीय केन्द्र बन्नेछ ।” त्रिभुवन उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक निरक तारामी पनि महावुधामलाई केवल धार्मिकस्थलको रुपमा मात्र सीमित नराखी समग्र कर्णालीको प्राकृतिक सौन्दर्य, जैविक विविधता र साहसिक पर्यटनको समेत अद्भूत केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुहुन्छ । यहाँको उच्च लेकाली पाटन, दुर्लभ जडीबुटी, हिम शृङ्खलाको दृश्यावलोकन र शान्त वातावरणले प्रकृतिप्रेमीहरूलाई आकर्षित गर्दछ ।

 

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update