काभ्रेपलान्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ धनेश्वरस्थित एक छोरी बाबुको काजकिरियामा बसेकी छिन् । उनका पिता सुन्दर थापाको निधनपछि एकमात्र छोरी समीक्षाले बुबाको काजकिरिया गरिरहेकी हुन् ।
छोरा र छोरी समान हुन् भन्ने सन्देश दिन आफ्नो कर्तव्य सम्झेर बुबाको काजकिरियामा बसेको समीक्षाको भनाइ छ । समीक्षाले बुबाको निधनपछि आफैँ काजकिरियामा सहभागी भएर छोरी पनि आमाबुबाको समान सन्तान हुन् भन्ने व्यावहारिक सन्देश दिएको स्थानीय दीपक थापाले बताए । समीक्षाका बुबाको गत भदौ २८ गते निधन भएको हो ।
नेपाली समाजमा अभिभावकको काजकिरिया छोरा वा पुरुष सन्तानले मात्र गर्नुपर्ने मान्यता राखिँदै आएको छ । सोही मान्यता तोड्न आफूले प्रयास गरेको समिक्षाको भनाइ छ ।
यसअघि गत वर्षको साउनमा बनेपा नगरपालिका उपप्रमुख विमला दाहाल सापकोटासहित तीन छोरीले बाबुको काजकिरिया गरेका थिए । उनका बाबु पनौती नपा–१ रयालेका हरिप्रसाद सापकोटाको ९१ वर्षको उमेरमा निधन भएपछि दाहालसहित तीन छोरीले काजकिरिया गरेका थिए।
छोरीले काजकिरिया गरेको विषयलाई आलोचित बनाइएपछि किरिया बसेका तीन छोरीले ‘१३ दिन हाम्रो बुबाको घरमा बसेर काजकिरिया गर्न देऊ, पीडा नदेऊ, १३ दिनपछि सदाका लागि माइतीको ढोका बन्द गरेर कर्मघर फर्कनेछौँ’ भन्ने सन्देश नै सार्वजनिक गरेका थिए ।
यस्तै उनीहरूले ‘आफूहरु बहिस्कार हुन तयार रहेको भन्दै कानुन र संविधानविपरीतको काम नगर्न’ चेतावनी दिएका थिए । स्थानीयले पुरोहितलाई पनि बहिस्कार गर्नेसम्मको धम्की दिइएपछि अर्का पुरोहितबाट काजकिरिया गराइएको थियो । नेपालको संविधान र मुलुकी देवानी संहिताले छोरा र छोरीलाई समान अधिकार दिएको छ । यस्तै उक्त संहितामा छोरीले बाबुको सम्पत्ति लिन, उत्तराधिकारी बन्न र काजकिरिया गर्न छोरासरह अधिकार दिएको छ । रासस






