म्याग्दी । कालीगण्डकीको कटानबाट जोगाउनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा बस्ती संरक्षण योजना अगाडि बढेपछि स्थानीयले राहत महसुस गरेका छन् । घरापका बासिन्दा सुदीपकुमार विकले नदीकिनारमा कम्पोजिट पर्खाल र र्यापिङ भएपछि यसपालि कटान रोकिएको बताए ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत सो आयोजना अगाडि बढाइएको हो । बाढी र कटान रोकथामका लागि नदीकिनारमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरिएको इन्जिनियर नरजङ्ग गुरुङले बताए ।
उनका अनुसार ९४ मिटर दूरीमा पर्खाल निर्माण गरिएको छ । जगदेखि दुई मिटर माथिसम्म चार मिटर फराकिलो आरसिसी र त्यसमाथि पलम पर्खाल लगाइएको छ । यस्तै, त्यसभन्दा माथि ग्यावियन जाली राखिएको छ । सो कार्यका लागि केटी/जेएसआर जेभीले २०८२ साल फागुन २५ गते रु एक करोड नौ लाख १६ हजारमा ठेक्का सम्झौता गरेको थियो ।
यस्तै, थप ९५ मिटर दूरीमा ठुला ढुङ्गा राखेर बाढी छेक्नका लागि र्यापिङ’ गरिएको छ । सो कार्यका लागि एमपी निर्माण सेवाले रु १२ लाखमा ठेक्का सम्झौता गरेको थियो । यस्तै, स्थानीय निलगिरी आधारभूत विद्यालयको भवन क्षेत्र संरक्षणका लागि पनि प्रक्रिया अगाडि बढाउनुपर्ने स्थानीयवासी प्रेमबहादुर तिलिजाले बताए ।
मुस्ताङ जाने वैकल्पिक पदमार्ग र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशबिन्दुमा पर्ने घराप गाउँमा २५ घरपरिवारको बसोबास छ । सुन्तलाको बगैँचा रहेको घरापमा नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्र कार्यालय र निलगिरी आधारभूत विद्यालय अवस्थित छ ।






