Khabar Out
किएभमा २४ सै घण्टा रुसी आक्रमण

काठमाडाैँ । युक्रेनको राजधानी किएभमा रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणको समय र शैली फेरिएको छ। यसअघि मुख्यतः राति हुने आक्रमण पछिल्लो एक सातादेखि दिनमा समेत हुन थालेपछि किएभवासीको दैनिकी २४ घण्टा नै हवाई आक्रमणको त्रास र अवरोधमा परेको छ।

रुसले तीव्र गतिमा उड्ने जेट–सञ्चालित ड्रोन प्रयोग गर्न थालेपछि आक्रमणको ढाँचा बदलिएको हो । हवाई आक्रमणको साइरन, विस्फोट र हवाई प्रतिरक्षाको आवाज अब सहरको दैनिक जीवनकै हिस्सा बनेका छन् । साइरन बज्दा मल, बैंक, विद्यालय तथा अन्य व्यवसायका काम रोक्नुपर्ने र सर्वसाधारण सुरक्षित स्थानमा जानुपर्ने अवस्था छ।

आक्रमणका कारण यातायातसमेत प्रभावित भएको छ। हवाई चेतावनीका कारण रेलहरू बाटोमै रोकिने र यात्रुहरू सामान बोकेर पैदल हिँड्नुपर्ने अवस्था आएको छ। ड्रोनका कारण जीपीएस सङ्केत अवरुद्ध हुँदा ट्याक्सी सेवासमेत प्रभावित भएको छ।

भोलोदिमर बोभ्सुनोभ्स्कीले करिब चार वर्षीया छोरीका लागि कपडा किन्न मल पुग्दा २० मिनेटमै हवाई आक्रमणको चेतावनी बजेको र धुवाँ देखिएपछि खाली हात फर्किनुपरेको बताए। “विगत सात दिनमा धेरै परिवर्तन भएको छ”, उनले भने। उनी परिवारलाई केही समय सुरक्षित र शान्त वातावरण दिन किएभ छाड्नेबारे समेत सोचिरहेका छन्।

युद्धले व्यक्तिगत जीवनका महत्त्वपूर्ण क्षणसमेत प्रभावित पारेको छ । इरिना बारानोभा र इभहेन मित्सिकले हवाई आक्रमणकैबिच विवाह गरेका थिए। मित्सिकले यस्तो अवस्थामा जीवन र परिवारको महत्त्व अझ बढी महसुस हुने बताए। उनले भने, “बिहान उठेपछि त्यस दिनको अधिकतम उपयोग गर्नुपर्छ, किनभने अर्को मौका नहुन सक्छ।”

टेट्याना सेभचेन्कोले ध्यानले लगातारको साइरन र विस्फोटबीच आफूलाई शान्त रहन मद्दत गरेको बताए। तर हवाई आक्रमणकै कारण सरकारी कार्यालयमा आफ्नो पालो गुमाएर लामो प्रक्रिया दोहो¥याउनुपरेको उनको अनुभव छ।

लगातारको आक्रमणले केही बासिन्दालाई सहर छाड्ने सोच्न बाध्य बनाएको छ।आइटी कर्मचारी इभान दात्सिभको अपार्टमेन्टमा रुसी ड्रोन ठोक्किँदा क्षति पुगेपछि उहाँले शान्त र सुरक्षित अर्को सहरमा बसाइँ सर्ने विचार गरिरहनुभएको छ । बारम्बार साइरन बज्ने भएकाले आश्रयस्थलमा जाने र फर्किने समयसमेत नपुग्ने उनले बताए।

बोभ्सुनोभ्स्कीकी छोरी जाने गरेको बालविकास केन्द्रमा पनि हवाई आक्रमणको चेतावनी बज्दा बालबालिकालाई आश्रयस्थलमा लैजानुपर्छ। “त्यहाँ कुनै स्थिरता छैन”, उनले भने। रातमा सीमित रहेको रुसी हवाई आक्रमण दिनको समयमा समेत फैलिँदा किएभवासीले युद्धको त्राससँगै काम, यात्रा, शिक्षा र पारिवारिक जीवनलाई निरन्तरता दिन सङ्घर्ष गरिरहेका छन् । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update