Khabar Out
भक्तपुर भाटभटेनी २४ घण्टा सञ्चालनमा, टंगाल र पाटनमा पनि विस्तारको तयारी

काठमाडौं । भाटभटेनी सुपरमार्केटले भक्तपुरस्थित आफ्नो स्टोरलाई चौबीसै घण्टा सञ्चालनमा ल्याएको छ। अन्तर्राष्ट्रिय चेन स्टोरको मोडलअनुसार ग्राहकलाई जुनसुकै समयमा किनमेल गर्न सहज बनाउने उद्देश्यले भक्तपुरबाट २४ घण्टे सेवा सुरु गरिएको हो ।

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङका अनुसार केही दिन परीक्षण गरेपछि सोमबारदेखि भक्तपुर स्टोरलाई पूर्ण रूपमा चौबीसै घण्टा सञ्चालनमा ल्याइएको हो ।

गुरुङले अन्तर्राष्ट्रिय बजारमा ठूला चेन स्टोरहरू २४ घण्टा सञ्चालन हुने अभ्यास रहेकाले भाटभटेनीले पनि सोही अवधारणालाई नेपालमा विस्तार गर्न लागेको बताए। उनका अनुसार भक्तपुर स्टोरलाई यस योजनाको पाइलट प्रोजेक्टका रूपमा अघि बढाइएको हो ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले व्यस्त ग्राहकलाई आफ्नो अनुकूल समयमा किनमेल गर्न सहज होस् भन्ने उद्देश्यले रातिसमेत स्टोर खुला राखिएको बताए। उनका अनुसार साँझ र रातिको समयमा किनमेल गर्ने ग्राहकलाई यसबाट थप सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

पौडेलले स्टोरमा दिनको समयमा ठूलो संख्यामा सवारीसाधन आवतजावत हुने भएकाले रातिको समयमा पनि ग्राहकको चाप व्यवस्थापन गर्न सहज हुने बताए। उनका अनुसार एउटा स्टोरमा दैनिक ठूलो संख्यामा सवारीसाधन आउने–जाने भएकाले २४ घण्टा सञ्चालनले ट्राफिक व्यवस्थापनमा समेत केही सहजता ल्याउन सक्छ ।

भाटभटेनीले भक्तपुरपछि काठमाडौंको टंगाल र पाटनस्थित स्टोरलाई पनि चौबीसै घण्टा सञ्चालनमा ल्याउने योजना बनाएको जनाएको छ । यसअघि भाटभटेनीका स्टोरहरू सामान्यतया बिहान ७ः३० बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुँदै आएका थिए ।

रातिको समयमा काम गर्ने कर्मचारीका लागि भने नियमित तलबभन्दा २५ प्रतिशत बढी पारिश्रमिकको व्यवस्था गरिएको गुरुङले जानकारी दिए। कर्मचारीका लागि रातिको समयमा चिया तथा खाजाको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

देशकै ठूलो चेन स्टोरका रूपमा रहेको भाटभटेनीले पछिल्लो समय आफ्ना सेवाहरू विस्तार गर्दै आएको छ। गत वर्षको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका एक दर्जनभन्दा बढी स्टोरमा आगजनी भएको थियो। तीमध्ये अधिकांश स्टोर पुनः सञ्चालनमा आइसकेका छन् ।

काठमाडौंको टंगालस्थित भाटभटेनी स्टोर पनि यही महिनादेखि पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ। २४ घण्टे सेवाको विस्तारसँगै भाटभटेनीले ग्राहकको सुविधा र किनमेलको समयलाई थप लचिलो बनाउने प्रयास गरेको देखिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update