Khabar Out
नाइमा एक्स्पोमा अपेक्षाभन्दा बढी भीड, बिदाका दिन विशेष तयारी

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अपेक्षाभन्दा बढी अवलोकनकर्ता पुगेपछि आयोजकले शनिबार र आइतबारका लागि विशेष व्यवस्थापन गरेको छ । विशेषगरी पार्किङ व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको नाइमाले जनाएको छ ।

एक्स्पोको पहिलो चार दिनमै ठूलो संख्यामा दर्शक सहभागी भएका छन् । तेस्रो दिनसम्म १ लाख ८ हजारभन्दा बढीले अवलोकन गरिसकेका छन् भने चौथो दिन पनि ३१ हजारभन्दा बढी दर्शक पुगेका छन् । आयोजकका अनुसार मेला अवधिभर करिब डेढ लाख अवलोकनकर्ता पुग्ने अपेक्षा गरिएको छ ।

मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा रहेका छन् । हालसम्म ५२ नयाँ मोडल सार्वजनिक गरिएको छ । विद्युतीय कार, ई–स्कुटर तथा व्यावसायिक सवारीसाधनप्रति विशेष आकर्षण देखिएको छ ।

अवलोकनकर्ताले ब्याट्री क्षमता, रेन्ज, मोटर, आफ्टर सेल्स सेवा, वारेन्टी तथा रिसेल भ्यालुका विषयमा चासो देखाएका छन् । कम्पनीहरूले मूल्य छुट, निःशुल्क बिमा, सवारी कर, सर्भिसिङ तथा सहुलियत कर्जाजस्ता सुविधा उपलब्ध गराएका छन् ।

दिगो र हरित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  २२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update