Khabar Out
यातायात कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व सङ्कलन

जनकपुरधाम । आर्थिक वर्ष २०८२/८३ मा रु ५७ करोड १५ लाखभन्दा बढी राजस्व जम्मा भएको छ ।

यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले सेवाग्राहीबाट गत आर्थिक वर्षमा उक्त राजस्व सङ्कलन गरेको हो ।

 

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट आव २०८२/८३ मा सो कार्यालयले रु ५७ करोड १५ लाख ३० हजार ६३६ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख वासुदेव मल्लले राससलाई बताए ।

उनले उक्त राजस्व अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा रु नौ करोड ५४ लाख १३ हजार ३४४ कम सङ्कलन भएको जानकारी दिए ।

सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा रु ६६ करोड ६९ लाख ४३ हजार ९८० राजस्व सङ्कलन गरेको थियो ।

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलन तथा आर्थिक वर्षको अन्तिम महिनामा यातायात व्यवस्था विभागले सफ्टवेयर निर्माणका क्रममा ढिलाइ भएका कारण राजस्व सङ्कलनमा कमी आएको बताइएको छ ।

कार्यालय प्रमुख मल्लका अनुसार आव २०८२/८३ मा मोटरसाइकल १६ हजार ९५७ वटा, बस/ट्रक १८७ वटा, टेम्पो/विद्युतीय रिक्सा एक हजार ९०२ वटा, ट्याक्टर एक हजार २२ वटा, जिप/कार २२६ वटालगायत गरी २१ हजार २९४ वटा नयाँ सवारी दर्ता भएका छन् । यस अवधिमा नयाँ तथा वर्ग थप गरी १३ हजार ३३८ जनालाई सवारीचालक अनुमतिपत्र वितरण गरिएको थियो । रासस

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update