काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य बढाएको छ । निगमका अनुसार भारतीय आयल कर्पोरेशन (आईओसी) बाट २०८२ साउन १५ गते प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो ।
निगम सञ्चालक समितिको निर्णयअनुसार २०८३ साउन १८ गते बिहान १:०० बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल/मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ। यससँगै पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।
आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाएर २४९ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर १३७, पोखराका लागि १२३ र भैरहवाका लागि १२२ कायम गरिएको छ। एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भइरहेकाले मूल्य समायोजन गर्नुपरेको हो । मूल्य वृद्धि गरेपछि पनि निगमलाई मासिक करिब १ अर्ब २४ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।
निगमले अन्तर्राष्ट्रिय बजारको अस्थिर अवस्थालाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन उपभोक्ता तथा सरोकारवालालाई आग्रह गरेको छ ।







