Khabar Out
वार्षिकोत्सवमा निःशुल्क दश चलचित्र देखाउदै विकास बोर्ड

काठमाडौं । चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सवको अवसर पारेर नेपाली चलचित्रका स्वर्णिम दिन सम्झाउने विशेष प्रदर्शनी आयोजना गर्ने भएको छ । ‘ओल्ड इज गोल्ड’ नाम दिइएको प्रदर्शनीमा दर्शकले नेपाली चलचित्र इतिहासका चर्चित तथा कालजयी १० चलचित्र निःशुल्क हेर्न पाउनेछन् ।

बोर्डका अनुसार साउन २२ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको उद्देश्य नेपाली चलचित्रको ऐतिहासिक विरासत जोगाउनुका साथै नयाँ पुस्तालाई पुराना नेपाली चलचित्रसँग परिचित गराउनु हो। प्रदर्शनी चलचित्र विकास बोर्ड परिसरमा आयोजना हुनेछ ।

कार्यक्रमको उद्घाटन साउन २२ गते शुक्रबार दिउँसो १२ बजे नेपाली चलचित्र इतिहासको पहिलो नेपाली भाषाको चलचित्र ‘आमा’ प्रदर्शनबाट गरिनेछ। त्यसपछि ‘सिन्दुर’, ‘परिवर्तन’, ‘मनको बाँध’, ‘के घर के डेरा’, ‘कुमारी’, ‘शान्तिदीप’, ‘हिजो आज भोलि’, ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’ जस्ता चर्चित चलचित्र प्रदर्शन गरिनेछन् ।

बोर्डले पुराना चलचित्रहरूलाई नयाँ पुस्तासम्म पुर्‍याउने तथा नेपाली चलचित्र उद्योगको विकास यात्रालाई स्मरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ। प्रदर्शनी अवधिभर दर्शकले कुनै शुल्क नतिरी चलचित्र हेर्न सक्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update