कास्की । मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै साथीहरूले कुटपिट गरी हत्या गरेको खुलेको छ ।
यही साउन १ गते सोही ठाउँका असिम वनको जन्मदिन मनाउन गएका थापाको बिहीबार स्थानीय मनखोलामा शव फेला परेको थियो । घटनामा संलग्न रहेको आरोपमा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जन्मदिन मनाउने क्रममा साथीहरू मिलेर राति अबेरसम्म मदिरा सेवन गरेको र घर फर्कने क्रममा मोबाइलका विषयमा झगडा हुँदा कुटपिट गरी थापाको हत्या गरिएको पाइएको कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले बताए ।
“लजिन थापासँग रहेको आइफोन मोबाइल माग्दा नदिएपछि उनीहरूबीच एकापसमा झगडा भएको देखिन्छ,” उनले भने, “कुटपिटबाट बेहोस भएका लजिनको मृत्यु भएपछि घटनास्थलदेखि झण्डै आधा घण्टाको दूरीमा शव लुकाएर राखेको अवस्थामा भेटिएको छ ।”
जन्मदिन मनाउने क्रममा सात जना रहे पनि अरू घरतर्फ लागेपछि रेमबहादुर र ददी लजिन थापालाई पछ्याउँदै गएर एकान्तस्थलमा पुगेर आक्रमण गरेको प्रहरी उपरीक्षक प्रसाईंले बताए । साउन १ गते राति २ः३० बजेसम्म लजिनका साथीहरू मिलेर स्थानीय दगातुम्डाँडा प्राथमिक विद्यालयमा बसेर मदिरा सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । जन्मदिन मनाउने क्रममा एक जना नौ वर्षीय बालकसमेत सहभागी रहेको प्रहरीले जनाएको छ ।
हप्ता दिनसम्म लजिनको अवस्था पत्ता नलागेपछि प्रहरीले प्राविधिक विज्ञ, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरालगायतको सहयोगबाट खोजतलास गरेको थियो । नियन्त्रणमा लिइएकामाथि व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौंको धुम्बाराहीस्थित साइपाल कलेजमा कक्षा ११ मा अध्ययनरत लजिन केही समयअघि घर आएका थिए । साथीको जन्मदिन मनाउन गएका उनी आफ्नै साथीहरूबाट हत्याको सिकार भएका छन् । रासस






-1784977171.jpg)
