Khabar Out
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौँ । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन सबै सरोकारवाला निकायले समन्वय गरेर काम गर्नुपर्ने बताएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको दशौँ परिषद्को तेस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष र उपाध्यक्षको शपथग्रहण कार्यक्रममा उनले सम्पत्ति शुद्धीकरण निवारणका लागि वित्तीय कारबाही कार्यदलले नेपाललाई ग्रे लिस्टमा राखेकाले संयुक्त प्रयासबाट मात्रै यसबाट बाहिरिन सकिने बताए।

उनले भने, “चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले पनि इमान्दारीपूर्वक लेखापरीक्षणलगायत काम गरेर नेपाललाई ग्रे लिस्टबाट हटाउन महत्वपूर्ण सहयोग गर्न सक्छ । यसमा संस्थाले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरेको छु ।”

महालेखापरीक्षक रायाले लेखापरीक्षणलगायत गतिविधिमा हुन सक्ने विकृति र विसङ्गतिलाई इमान्दारीपूर्वक उजागर गर्न पनि आग्रह गरे । उनले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको ऐन समयअनुकूल नभएकाले आवश्यक संशोधन प्रक्रिया अघि बढाइने जानकारी दिए। नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा गोपालप्रसाद भट्टले बैङ्क तथा वित्तीय संस्था, निजी र सार्वजनिक कम्पनीको लेखापरीक्षण निष्पक्ष र इमान्दारीपूर्वक गर्न संस्थालाई आग्रह गरे  ।

निवर्तमान अध्यक्ष सिए नीलबहादुर सारु मगरले आफ्नो कार्यकालमा संस्थाको गरिमा बढाउने प्रयास गरेको बताउनुभयो । उहाँले नवनिर्वाचित अध्यक्ष सिए आनन्दराज शर्मा वाग्लेलाई ‘प्रेसिडेन्ट मेडल’ हस्तान्तरण गर्दै पदभार ग्रहण गराए ।

नवनिर्वाचित अध्यक्ष वाग्लेले संस्थाको स्थापनाकालदेखि कायम व्यावसायिकतालाई अझ सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले नवनिर्वाचित उपाध्यक्ष सिए हेमकुमार काफ्लेलाई पनि शपथ गराए । उपाध्यक्ष काफ्लेले लेखापरीक्षणलगायतका गतिविधिलाई अझ विश्वासिलो र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update