Khabar Out
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द

रसुवा । ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि विद्युत् उत्पादन रोकिएको रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीले जानकारी दिए । खोलाको अवस्था सामान्य रहेमा सोमबार (असार २९)देखि पुनः विद्युत् उत्पादन सुरु गरिने उनले बताए ।

गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले आयोजनाको बाँधसहित विभिन्न संरचनामा ठूलो क्षति पुर्‍याएको थियो । त्यसपछि मर्मत तथा पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको आयोजनामा पुनः क्षति पुग्न सक्ने आशंकामा सुरुङतर्फ पानी लैजाने गेट बन्द गरिएको प्राविधिकले बताएका छन् ।

खोलाको बहावको निरन्तर अनुगमन भइरहेको रसुवागढी हाइड्रोपावरका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाले जानकारी दिए । अवस्था सुरक्षित देखिएमा आजैदेखि विद्युत् उत्पादन पुनः सञ्चालनमा ल्याइने उनले बताए ।

भोटेकोसी नदीमा पनि पानीको बहाव बढ्न थालेपछि रसुवागढी भन्सार यार्डमा रहेका मालवाहक सवारीसाधन तथा नयाँ आयातित सवारी तत्काल सुरक्षित स्थानमा सारिएको त्यहाँस्थित सुरक्षाकर्मीले जनाएका छन् ।

भन्सार यार्डको उत्तरी भागबाट बाढी पस्न सक्ने जोखिम रहेकाले यार्डको थप सुरक्षा र तटबन्ध निर्माण गर्न नेपाल इन्टरमोडल यातायात विकास समिति (प्रालि)सँग चालकहरूले माग गरेका छन् ।

गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामी छिरिङ तामाङले ल्हेन्दे खोला र भोटेकोसी नदी आसपास नजान तथा सवारीसाधन नदी किनारमा नराख्न स्थानीयवासीलाई आग्रह गरेका छन् ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार, आइतबार साँझको ‘हल्का’ बाढीले मैलुङ सडकबाहेक अरू स्थानमा उल्लेखनीय क्षति पुर्‍याएको छैन ।

मैलुङ सडकखण्ड जोखिममा परेकाले केरुङ आवतजावत गर्ने सवारीसाधनलाई बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेँसी हुँदै रसुवागढी पुग्ने साबिकको बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले यात्रु तथा चालकलाई जोखिमयुक्त सडक प्रयोग नगर्न अनुरोध गरेका छन् ।

कतै पनि विपद्को अवस्था देखिएमा आपत्कालीन निःशुल्क नम्बर १२३४ मा तत्काल जानकारी गराई उद्धार तथा राहत कार्यमा सहयोग गर्न प्रमुख जिल्ला अधिकारी परियारले सर्वसाधारणसँग अनुरोध गरेका छन् । रासस

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update