Khabar Out
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । बागतमी प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको बताएका छन् । ठमेल पर्यटन विकास परिषद्को आज यहाँ आयोजित ३० र ३१ औँ वार्षिक साधारणसभा तथा निर्वाचनका क्रममा उनले नेपालको पर्यटन क्षेत्रको विकासमा ठमेलको योगदान महत्वपूर्ण भएको बताए ।

मन्त्री श्रेष्ठले बागमती प्रदेशले पर्यटन प्रवर्द्धन र पर्यटक पूर्वाधारको विकासका लागि आर्थिक वर्ष २०८३/८४ का लागि चार अर्ब बजेट विनियोजन गरेको बताए । उनले ठमेल क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका कतिपय व्यवसायी घरभाडा समेत तिर्न नसक्ने अवस्थामा परेको उल्लेख गदै त्यस्ता व्यवसायीको पनि समस्याका लागि परिषद्ले काम गर्नुपर्ने उल्लेख गरे ।

काठमाडौँ महानगरपालिका–१६ की वडाअध्यक्ष रोजिना श्रेष्ठले सुरक्षित, व्यवस्थित र प्रविधियुक्त ठमेल निर्माणका लागि परिषद्ले काम गर्नुपर्नेमा जोड दिइन् । नेपाललाई विश्वस्तरमा चिनाउनका लागि ठमेल क्षेत्रले सहयोग पुर्याउँदै आएको उनको भनाइ छ ।

नेपाल एसोसिएसन टुर्र एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले नेपाल आउने अधिकांश विदेशी पर्यटक ठमेल एकपटक आउने गरेको बताउँदै पछिल्लो समय ठमेल साँघुरो हुँदै गएको बताए । हवाई क्षेत्रमा लगानी नबढ्दासम्म नेपालको पर्यटक क्षेत्रले गति लिन नसक्ने उनको भनाइ थियो ।

परिषद्का अध्यक्ष धुर्व अधिकारीले ठमेल क्षेत्रको विकासका लागि परिषद्ले व्यवसायी र घरधनीसँग सहकार्य गरेर काम गरिरहेको बताए । उनले अन्तरराष्ट्रिय स्तरको रुपमा रहेको ठमेललाई सङ्घीय सरकारले विशेष योजना बनाएर विकास गर्नुपर्ने उल्लेख गरे ।

परिषद्का पूर्वअध्यक्ष डा. रामशरण थपलिया, उपाध्यक्ष सहदेव धमला (विमल), महासचिव बद्री तिमल्सिनालगायतले ठमेल क्षेत्रलाई विशेष पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताए । वि.सं.२०४८ सालमा स्थापना भएको ठमेल पर्यटन विकास परिषद्मा हाल एक हजार ५०० भन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध रहेका छन् । रासस

प्रकाशित मिति: शनिबार, असार २७, २०८३  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update