Khabar Out
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना

बागलुङ । बागलुङमा एचआइभी सङ्क्रमितको संख्या २२० पुगेको छ। चालु आर्थिक वर्षमा आठ नयाँ सङ्क्रमित थपिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार सङ्क्रमितमध्ये १५ वर्षमुनिका ६ जना र १५ वर्षमाथिका २१४ जना छन्। त्यस्तै, ११४ जना महिला र १०६ जना पुरुष रहेका छन्।

सङ्क्रमितहरूले धवलागिरि प्रादेशिक अस्पताल बागलुङ, बुर्तिबाङ अस्पताल र बेनी अस्पतालबाट नियमित रूपमा एआरटी (एन्टिरेट्रोभाइरल थेरापी) सेवा लिइरहेका छन्। सङ्क्रमितलाई गोप्य रूपमा नियमित औषधि सेवनको दायरामा ल्याउने अभियानलाई तीव्र बनाइएको घिमिरेले बताए।

उनका अनुसार हरेक वर्ष एचआइभी परीक्षण अभियान सञ्चालन हुँदै आएको छ। अघिल्लो आर्थिक वर्षमा करिब २० हजार जनाको परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको थियो भने चालु आर्थिक वर्षमा आठ जनामा एचआइभी सङ्क्रमण देखिएको छ। अधिकांश नयाँ सङ्क्रमित विदेशबाट फर्किएका व्यक्ति रहेको उनले बताए।

घिमिरेका अनुसार असुरक्षित यौन सम्पर्क, सङ्क्रमित रगतको प्रयोग तथा लागुऔषध प्रयोग गर्दा एउटै सुई प्रयोग गर्नेजस्ता कारणले एचआइभी सर्ने गर्छ। समाजमा हुने लाञ्छना र भेदभावका कारण सङ्क्रमितको पहिचान तथा उपचारमा ल्याउन अझै चुनौती रहेको उनले बताए । रासस

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update