Khabar Out
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?

काठमाडौँ । प्रतिनिधि सभामा सांसदहरुले साना तथा मझौला उद्योग प्रवर्द्धन, स्वास्थ्य, कृषि क्षेत्र, खानेपानी, सडक, वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या तथा जङ्गली हात्ती नियन्त्रण, विद्युत् पहुँच विस्तारलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा भाग लिने सांसदले सार्वजनिकस्थलमा धुम्रपान निषेध, सीमा भन्सारको स्तरोन्नति, पार्किङ शुल्क र वैदेशिक रोजगारीमा हुने गरेको ठगीलगायतका विषय उठाए ।

सांसद अनुष्का श्रेष्ठले साना तथा मझौला उद्योगले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेकाले त्यस्ता उद्योग व्यवसायलाई सरकारी सहयोग, तालिम तथा नीतिगत विषयमा सहयोग र सहजीकरण आवश्यक रहेको बताइन् ।

सांसद अभिषेकप्रताप शाहले लुम्बिनी प्रदेशको कृष्णनगर भन्सारको स्तरोन्नति गर्न माग गरे । सांसद अम्बिकादेवी सङ्ग्रौलाले संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेकाले सोअनुसार नागरिकले सेवा पाए/नपाएको बारेमा स्वास्थ्य संस्थाको नियमित अनुगमन आवश्यक रहेको बताइन्।

सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे।

सांसद आकृति अवस्थीले सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई कारबाही गर्ने कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिइन् ।

सांसद आनन्दबहादुर चन्दले वैज्ञानिक कृषि ज्ञानको अभाव र मलको असन्तुलित प्रयोगले कृषि उत्पादन प्रभावित भएकाले माटो परीक्षण, मलको प्रयोगका सम्बन्धमा तालिम आवश्यक रहेको बताए।

सांसद आरेन राईले खोटाङ–भोजपुर सडकखण्डको पुनर्निर्माण गर्न माग गरे। त्यस्तै सांसद आशा झाले साना संस्थालाई पूर्ण लेखा परीक्षण गर्नै पर्ने हालको प्रावधानमा संशोधनको आवश्यकता औँल्याए।

सांसद आशिष गजुरेलले भौतिक पूर्वाधारण निर्माणका क्षेत्रमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिए। सांसद आशिका तामाङले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पार्किङ शुल्क घटाउन सरकारसँग आग्रह गरिन्।

सांसद उत्तमप्रसाद पौडेलले सार्वजनिक यातायातलाई अपाङ्गतामैत्री बनाउनुपर्नेमा जोड दिए। सांसद एशुदाकुमारी बरालले कर्णालीका सडक यातायात सेवालाई सुरक्षित तुल्याउनेतर्फ सरकारको ध्यानाकर्षण गराइन्।

सांसद ओजस्वी शेरचनले स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गर्न स्पष्ट नीति र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताइन्। सांसद कमल सुवेदीले वैदेशिक रोजगारीमा जाने नेपाली ठगीमा पर्ने क्रम बढेकाले प्रभावकारी नियमनको नीति अवलम्बन गर्न आग्रह गरे।

सांसद करिष्मा कठरियाले वर्षायामको मध्य समय भइसकेकाले धान रोप्ने किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारसँग माग गरिन् ।

सांसद कविन्द्र बुर्लाकोटीले गोरखाको अजिरकोट र सिरानचोक गाउँपालिकालगायतका क्षेत्रमा धारा भए पनि पानी नआउने समस्या रहेकाले त्यस क्षेत्रमा देखिएको खानेपानी सङ्कट समाधान गर्न आग्रह गरे।

सांसद कामिनी कुमारीले जलेश्वर अस्पतालको स्तरोन्नति गर्न माग गरिन्। सांसद कुलभक्त शाक्यले मेलम्ची खानेपानी आयोजना बन्द भएपछि काठमाडौँ उपत्यकामा खानेपानी सङ्कट बढेको भन्दै वैकल्पिक व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।

त्यस्तै सांसद कुसुम महर्जनले सिंहदरबारस्थित राष्ट्रिय सम्पत्तिको सुरक्षाका लागि सरकार गम्भीर हुनुपर्ने आवश्यकता औँल्याइन्। सांसद खगेन्द्र कर्णले जङ्गली हात्तीको आक्रमणबाट पछिल्लो वर्षमा धेरै जनधनको क्षति भएकाले यसको नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन आग्रह गरे ।

सांसद खडकबहादुर बुढाले कर्णाली प्रदेशमा विद्युत् पहुँच विस्तार गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद गजाला शमीम मिकरानीले अहिले मध्य बर्सातको समय रहेकाले विपद् व्यवस्थापनको पूर्वतयारीमा रहन सरकारलाई सुझाव दिइन् । रासस

प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update