काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ आगामी साउन २६ देखि ३१ गते (अगस्ट ११–१६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ ।
काठमाडौंस्थित द सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा नाइमाले एक्स्पोमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ सवारी तथा प्रविधिको सार्वजनिक प्रदर्शन (लन्च) हुने जानकारी दिएको छ । प्रदर्शनीमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, व्यावसायिक सवारी, विद्युतीय तथा हाइब्रिड सवारी, मोबिलिटी प्रविधि तथा यस क्षेत्रसँग सम्बन्धित विभिन्न सेवा र उत्पादन प्रदर्शन गरिने जनाइएको छ ।
नाइमा अध्यक्ष रितु सिंह वैद्यले संस्था एक वर्षअघि २१ सदस्य कम्पनीबाट स्थापना भई हाल ३६ प्रमुख सदस्य कम्पनीमा विस्तार भएको बताइन् । उनले उद्योगले नाइमाप्रति देखाएको विश्वास र नेपालको मोबिलिटी क्षेत्रका लागि साझा मञ्चको आवश्यकताले संस्थाको विस्तारमा योगदान पुगेको बताइन् ।
वैद्यले नाइमाले प्रदर्शनी आयोजना गर्नुका साथै सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, जनचेतना, सीप विकास तथा अनुसन्धानका क्षेत्रमा पनि काम गर्दै आएको बताइन् । एक्स्पोबाट प्राप्त टिकट आम्दानीको कम्तीमा १० प्रतिशत अनुसन्धान, फेलोसिप तथा तालिम कार्यक्रमका लागि छुट्याइने जानकारी दिइन् ।
नाइमाले शिक्षा मन्त्रालयसहित सम्बन्धित निकायसँग सहकार्य गरी मोबिलिटी क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन, सीप अभिवृद्धि र रोजगारी सिर्जनामा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने तयारी पनि गरेको जनाएको छ । साथै व्यावसायिक सवारीसाधन केन्द्रित छुट्टै मोबिलिटी एक्स्पो आयोजना गर्ने विषयमा अध्ययन भइरहेको जानकारी दिएको छ ।
नाइमाका बोर्ड सदस्य सन्दीप शारडाले निजी क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस्ता प्रदर्शनीले लगानी विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने बताए ।
एक्स्पो व्यवस्थापन समितिका संयोजक गौरव शारडाले यस वर्षको प्रदर्शनीलाई थप व्यवस्थित, समावेशी र आगन्तुकमैत्री बनाइने बताए । उनका अनुसार अपाङ्गता भएका व्यक्तिका लागि सहज पहुँचको व्यवस्था गरिनेछ भने नेपाल पुलिस क्लबमा पार्किङ सुविधा उपलब्ध हुनेछ । पठाओले राइड पार्टनरका रूपमा छुटसहित सेवा उपलब्ध गराउने र युनियन पे क्यूआरमार्फत टिकट खरिद गर्दा क्यासब्याक सुविधा प्रदान गरिनेछ ।
एक्स्पो अवधिभर नेपाल पुलिस क्लबको ब्लु पेभिलियनमा मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सीप विकास तथा रोजगारीका विषयमा विज्ञहरूको सहभागितामा निःशुल्क ‘लर्निङ सेसन’ सञ्चालन गरिने जनाइएको छ ।
ग्लोबल आईएमई बैंक सह–प्रायोजक तथा रेड बुल ‘पावर्ड बाइ’ स्पोन्सर रहेको एक्स्पोमा एनएमबी बैंक, सिद्धार्थ बैंक, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, बोस नेपाल, पठाओ, आईएमई खल्ती, वर्ल्डलिंक, नर्भिक इन्टरनेसनल अस्पताललगायत विभिन्न संस्था साझेदारका रूपमा आबद्ध छन् ।
नाइमाले विद्यार्थी, व्यवसायी, उद्यमी, नीति निर्माता, सञ्चारकर्मी तथा आम सर्वसाधारणलाई साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुन आग्रह गरेको छ ।







