काठमाडौं । नेपाली फुटबलप्रेमीका लागि दुःखद समाचार आएको छ। ब्राजिलका स्टार फरवार्ड नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।
फिफा विश्वकप २०२६ को अन्तिम–१६ चरणमा ब्राजिल नर्वेसँग २–१ गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेयमारले राष्ट्रिय टोलीबाट बिदा लिने निर्णय गरेका हुन् ।
अमेरिकाको न्यु जर्सीस्थित रंगशालामा भएको उक्त खेलमा ब्राजिलका लागि सान्त्वना गोल नेयमारले इन्जुरी टाइममा पेनाल्टीमार्फत गरेका थिए। यही गोल प्रतियोगितामा उनको एकमात्र गोल बन्यो ।
जारी विश्वकपमा पूर्ण रूपमा फिट नभएका नेयमारले दुई खेलमा मात्र वैकल्पिक खेलाडीका रूपमा अवसर पाएका थिए। यसअघि उनले समूह चरणमा स्कटल्यान्डविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।
सन् २०१० मा ब्राजिलको सिनियर टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका नेयमारले चारवटा फिफा विश्वकप खेले । उनी ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले १२९ अन्तर्राष्ट्रिय खेलमा ८० गोल गरेका छन् ।
पराजयपछि भावुक बनेका नेयमारले भने, “मैले प्रयास गरेँ, धेरै प्रयास गरेँ। मेरो यात्रा यही रंगशालाबाट सुरु भएको थियो र यहीँ आएर अन्त्य भयो । अब सबै सकियो ।”







