काठमाडौँ । राष्ट्रियसभा सदस्यहरूले सार्वजनिक यातायातको भाडा समायोजन, विपद् पूर्वतयारी, सडक सुरक्षा र कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका कृष्णबहादुर रोकायाले पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा तत्काल सार्वजनिक सवारीसाधन र हवाई यातायातको भाडा समायोजन गर्न सरकारसँग आग्रह गरे।
कांग्रेसका पदमबहादुर परियारले पछिल्लो एक दशकमा सडक दुर्घटनामा २४ हजारभन्दा बढी नागरिकले अकालमै ज्यान गुमाएको उल्लेख गर्दै सडक सुरक्षामा विशेष ध्यान दिन सरकारलाई सुझाव दिए।
कांग्रेसकी विष्णुकुमारी सापकोटाले रुसी सेनामा भर्ना भई युक्रेन युद्धमा १८७ नेपालीको मृत्यु तथा ९६ जना बेपत्ता भएको भन्ने खबरप्रति गम्भीर बन्न र कूटनीतिक पहलमार्फत सत्यतथ्य सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराइन्।
कांग्रेसकी विष्णुदेवी पुडासैनीले सुकुमवासी नागरिकको समस्या समाधान गर्न सरकारसँग आग्रह गरिन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विष्णुबहादुर विश्वकर्माले आगामी आर्थिक वर्षमा नयाँ सवारीसाधन खरिद नगर्न सरकारलाई सुझाव दिए।
नेकपाकै श्रीकृष्णप्रसाद अधिकारीले नुवाकोटको सूर्यगढी गाउँपालिका–१ लच्याङको बुलबुले, काउले र सेम्राङमा जमिन भासिएर ३० परिवार विस्थापित भएको तथा सयौँ घर पहिरोको जोखिममा रहेको जानकारी गराउँदै तत्काल प्रभावितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।
नेकपाकी सावित्री मल्लले नवलपरासीको सुस्ता क्षेत्रका नागरिक भूमि रक्षा र नागरिकता प्राप्तिको माग गर्दै माइतीघरमा आन्दोलन गरिरहेको उल्लेख गर्दै सीमासम्बन्धी समस्या समाधानका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरिन्।







