थाइल्यान्डको उत्तरपूर्वी मुकदाहान प्रान्तमा ११ वर्षीय बालकले आफ्ना अभिभावकको पिकअप ट्रक अनुमति बिना चलाउने क्रममा धार्मिक जुलुसमा सहभागी बौद्ध भिक्षुहरूलाई ठक्कर दिँदा आठ भिक्षुको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन् । घटनापछि प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ ।
प्रहरीका अनुसार ३५ जना भिक्षु र पाँच जना सर्वसाधारण अनुयायी तीर्थयात्राका क्रममा सडक किनार हुँदै हिँडिरहेका बेला बालकले अनुमति बिना चलाएको पिकअप ट्रक नियन्त्रणबाहिर गई जुलुसमा ठोक्किएको थियो । दुर्घटनामा पाँच भिक्षुको घटनास्थलमै मृत्यु भएको थियो भने थप तीन जनाले अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका हुन् । घाइतेहरूको मुकदाहान अस्पतालमा उपचार भइरहेको छ ।
मुकदाहान प्रान्तीय प्रहरी प्रमुख मेजर जनरल पैरोज थाइफुत्साले गाडीलाई प्राविधिक परीक्षणका लागि पठाइएको र दुर्घटनाको वास्तविक कारण पत्ता लगाउने काम भइरहेको जानकारी दिए । उनका अनुसार बालकका अभिभावकलाई पनि बोलाइएको छ र बालकको जिम्मेवारी कसको थियो भन्ने आधारमा कानूनी प्रक्रिया अघि बढाइनेछ ।
मुकदाहान सिटी प्रहरी प्रमुख प्रयुत रुआनथोङ्कमले दुर्घटनामा संलग्न चालक ११ वर्षीय बालक रहेको पुष्टि गरे । घटनालगत्तै उद्धार तथा आपत्कालीन स्वास्थ्यकर्मी घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेका थिए ।
मुकदाहानका प्रान्तीय गभर्नर वोरायन बुन्नारतले यो घटनालाई सडक सुरक्षाबारे गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताए । उनले पछिल्ला वर्षहरूमा सडक सुरक्षा कडा बनाइए पनि यस्ता दुर्घटना दोहोरिन नदिन सबैको, विशेषगरी अभिभावकको,जिम्मेवारीपूर्ण भूमिका आवश्यक रहेको उल्लेख गरे । रासस







