Khabar Out
बेल्जियम रेल–मिनीबस दुर्घटनामा ४ को मृत्यु

बेल्जियमको बुगेनहाउट सहर नजिक मङ्गलबार बिहान उच्च गतिमा आएको रेल र रेलवे क्रसिङ पार गरिरहेको मिनीबसबीच भएको भीषण ठक्करमा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ भने पाँच जना बालबालिका गम्भीर रूपमा घाइते भएका छन् ।

ब्रसेल्सबाट करिब ३० किलोमिटर उत्तरपश्चिममा रहेको उक्त क्षेत्रमा व्यस्त बिहानको समयमा भएको दुर्घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ । प्रारम्भिक विवरणअनुसार मिनीबस बन्द गरिएको रेल क्रसिङ अवरोध पार गर्दै अघि बढिरहेको देखिएको थियो । सोही क्रममा तीव्र गतिमा आएको रेलले ठक्कर दिएको हो ।

इस्ट फ्ल्यान्डर्स सार्वजनिक अभियोजन कार्यालयकी प्रवक्ता लिसा डे वाइल्डका अनुसार बस चालक, १२ र १५ वर्ष उमेरका दुई बालबालिका तथा एक एस्कर्टको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका अन्य बालबालिकालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ ।

अधिकारिहरूका अनुसार दुर्घटनाको वास्तविक कारण अझै स्पष्ट हुन बाँकी छ । तर प्रवक्ता डे वाइल्डले प्रारम्भिक जानकारी उद्धृत गर्दै क्रसिङको अवरोध बन्द अवस्थामा रहेको र रातो बत्ती बलिरहेको अवस्थामा पनि मिनीबस अघि बढेको देखिएको बताए ।

सङ्घीय प्रहरी प्रवक्ता एन बर्जरका अनुसार मिनीबस चालकले क्रसिङको अवरोध पार गरेको देखिन्छ । यता रेल सञ्चालन निकाय इन्फ्राबेलले क्रसिङ प्रणाली ठीक रूपमा काम गरिरहेको स्पष्ट पारेको छ ।

इन्फ्राबेलका प्रवक्ता फ्रेडरिक स्याक्रेले रेल करिब १२० किलोमिटर प्रतिघण्टाको गतिमा आइरहेको र ठक्कर टार्न पर्याप्त समय नभएको बताए । रासस

प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update