Khabar Out
रूखले च्यापेर दुई जनाको मृत्यु

दाङ । रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थवाङ गाउँपालिका–२ हेलोवाङकी ६० वर्षीया रुजु झाँक्री र सोही ठाउँकी ५० वर्षीया मनबुजी झाँक्री रहेको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए।

उनका अनुसार रुजुको घटनास्थलमा नै र मनबुजीको उपचारका लागि कास्की पोखरातर्फ लैजाने क्रममा आज मृत्यु भएको थियो । उनीहरू दुवै जना सोमबार बेलुकी थवाङ आधारभूत अस्पतालमा बिरामी भेट्न गएका थिए । बिरामी भेटेर घरतर्फ फर्किने क्रममा बेलुकी हावाहुरीसहितको पानी पर्दा बाटोमाथिबाट उत्तिसको रूख ढलेपछि उनीहरूलाई च्यापेको थियो।

रूख ढलेर मानिसहरू च्यापेको भन्ने खबर पाउनासाथ इलाका प्रहरी कार्यालय थवाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर घाइतेलाई उद्धार गरेको थियो। रासस

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३  २१:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update