Khabar Out
कान्तिलोकपथमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

हेटौँडा । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ९६११ नम्बरको बसले घुम्तीमा विपरीत दिशातर्फ जाँदै गरेको ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । 

दुर्घटनामा गम्भीर घाइते योञ्जनलाई उपचारका लागि हेटौँडास्थित सीएमसी चुरेहिल अस्पतालमा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । स्कुटरलाई ठक्कर दिने बस र बसका चालक काभ्रेको चौरीदेउराली गाउँपालिका–२ निवासी ४१ वर्षीय शिवबहादुर चौलागाईंलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

भिरबाट लडेर दुई बालक घाइते

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ भोर्लेस्थित जङ्गलको भिरबाट लडेर दुई बालक घाइते भएका छन् ।

जङ्गलको बाटो हुँदै आज बिहान ११ बजेतिर भोर्लेबाट रमनटारतर्फ जाँदै गरेको साइकल आफैँ अनियन्त्रित भई भिरबाट करिब ३५ मिटर तल खसेर स्थानीय १२ वर्षीय साजन पाख्रिन र १२ वर्षीय रोणित थापा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता बोगटीले जानकारी दिए । 

घाइते दुवै बालकलाई उद्धार गरी उपचारका लागि हेटौँडास्थित सिएमसी चुरेहिल अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । 

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  २१:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update