बैतडी । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान केशव विष्ट यस वर्ष आलु राम्रो फल्ने आशामा छन् । वार्षिक आलु खेतीबाट आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका विष्ट उत्पादनसँगै आम्दानी पनि बढ्ने भएकाले दङ्ग छन्।
“समयमै पानी परेका कारण उत्पादन राम्रो हुने आशामा छौँ । खेतहरू आलु खेतीले हरियाली भएका छन्”, विष्टले भने, “हामीले आलुसँगै अन्य सिजनअनुसारका तरकारी खेती पनि गर्दै आएका छौँ ।”
बैतडीको पाटन नगरपालिका–८, ९ र १० आलु खेतीका लागि पकेट क्षेत्र हुन् । विष्टजस्तै यहाँका अधिकांश किसान आलु खेतीसँगै अन्य मौसमअनुसारका तरकारी खेतीबाट नै आत्मनिर्भर बन्दै गएका छन् । बैतडीबाट मात्रै वार्षिक डेढदेखि दुई करोड रुपैयाँसम्मको आलु निर्यात हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । यस वर्ष समयसमयमा पानी परेकाले विगतको तुलनामा २० प्रतिशतसम्म वृद्धि हुनसक्ने कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीले जानकारी दिए ।
आलुसँगै अन्य मौसमी तथा बेमौसमी तरकारीका लागि यो पकेट क्षेत्र भए तापनि शीत भण्डार र सिँचाइको अभावमा किसानले प्रत्येक वर्ष घाटा व्यहोर्दै आएका छन् । यस क्षेत्रमा एउटा शीत भण्डार छैन, आलुको बीउ राख्नका लागि यहाँबाट डडेलधुरा लैजानुपर्ने बाध्यता रहेको किसानहरूले बताउँदै आएका छन् ।
शीत भण्डार सञ्चालनमा नआउँदा मर्कामा किसान
प्रदेश र सङ्घीय सरकारको लगानीमा पाटन–८ खोड्पे क्षेत्रमै बनेका दुई शीतभण्डारहरू वर्षौँदेखि प्रयोगविहीन छन् । वर्षौँदेखि अलपत्र अवस्थामा रहेको शीत भण्डार सञ्चालनमा नआउँदा कृषि उपजलाई सुरक्षित राख्न नपाएको र आलुको बीउसमेत राख्न समस्या हुने गरेको अर्का किसान नरबहादुर विष्ट बताउँछन् । यस क्षेत्रमा बनेका शीत भण्डार पनि प्रयोगमा छैनन्, शीत भण्डार सञ्चालन गर्न सरोकारवाला निकायले चासो नदेखाएको उनको गुनासो छ ।
पाटन नगरपालिका–८ खोडपेमा प्रदेश सरकारको सहयोगमा करिब ४२ लाख रुपैयाँ लागतमा बनेको शीत भण्डार सञ्चालनमा आएको छैन । आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको सहयोगमा निर्माण सम्पन्न भएको शीत भण्डार सञ्चालनमा आउन सकेको छैन । शीत भण्डारका सञ्चालक मोहनदेव भट्टले प्रदेश सरकारको रु १५ लाख अनुदानमा निर्माण गरेको भए पनि प्रयोगमा ल्याएका छैनन् । शीत भण्डार निर्माणका क्रममा अनुदान पाएका भट्ट अहिले सम्पर्कमा नरहेको कृषि ज्ञान केन्द्रका प्रमुख जोशीले बताए ।
त्यसैगरी, खोडपे क्षेत्रमै बनेको अर्को शीतभण्डारको काम सम्पन्न हुन सकेको छैन । साबिकको नयाँ सहर आयोजनाको कार्यालयद्वारा ८४ लाख २९ हजार ८१ रुपैयाँ लागतमा बनेको शीत भण्डारमा विद्युत् जडान नहुँदा प्रयोगमा आउन सकेको छैन ।
विद्युत् जडानसँगै केही प्राविधिक उपकरण जडानको काम बाँकी छ । उक्त शीत भण्डारमा विद्युत् जडानका लागि बजेट नआएकाले आगामी वर्षका लागि माग गरिएको नयाँ सहर आयोजनाको कार्यालय गाभिएको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयका सूचना अधिकारी विशाल श्रेष्ठले जानकारी दिए । रासस







