Khabar Out
माटोको ढिस्कोमा पुरिएर १ जनाको मृत्यु, १ जना घाइते

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका एक महिलाको माटोको ढिस्कोमा पुरिएर आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका–४ इटाहा क्षेत्रमा घर लिपपोतका लागि माटो खन्ने क्रममा शुक्लाफाँटा नगरपालिका–१२ तिलकी निवासी करिब ४० वर्षीया हरदुलिया रानाको घटनास्थलमै मृत्यु भएको हो ।

माटोको ढिस्कोभित्र पुरिएकी अर्की करिब ५५ वर्षीया सुन्दरीया रानालाई स्थानीयले घाइते अवस्थामा उद्धार गरेका छन् । उहाँको दाहिने खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ ।

वडाध्यक्ष नवलसिंह रानाका अनुसार घाइते सुन्दरीयालाई उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ । शव परीक्षणका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाका समयमा माटो खन्न गएका अन्य दुई जना भने सकुशल रहेका छन् । रासस

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update