Khabar Out
बक्यौता नतिर्नेको ठेकेदारको सेवासुविधा रोकियो

कैलाली । भजनी नगरपालिकाले तालतलैयाको बक्यौता नतिर्ने ठेकेदारको सेवासुविधा रोकेको छ । नगरपालिकाको आन्तरिक आयस्रोतका रूपमा रहेको तालतलैया ठेक्कामा सञ्चालन गरेर बक्यौता नतिर्ने ठेकेदारको सेवासुविधा रोक्का गरेको हो ।

नगरपालिकाको वैशाख १५ गते बसेको कार्यपालिका बैठकले बक्यौता नतिर्ने व्यक्ति तथा फार्मको नगरपालिकाबाट हुने सबै खालको सेवा प्रवाह रोकिएको प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले बताए । उनका अनुसार व्यक्तिको हकमा स्वास्थ्य सेवालाई भने रोकिएको छैन । ठेक्का लिने व्यक्तिले बक्यौता नतिर्दा उसको तीनपुस्ते विवरणअनुसारको सेवासुविधा रोकिएको छ ।

विसं २०७२ देखि नगरपालिकाले तालतलैया माछापालनका लागि ठेक्का दिँदै आएको थियो । ठेक्का लिने व्यक्ति तथा फार्मले समयमा सम्झौताअनुसारको रकम नतिर्दा नगरपालिकाको राजस्व खुम्चिएको छ । नगरपालिकाको आन्तरिक आयको प्रमुख स्रोत तालतकैया हुन् । यस नगरपालिकामा दर्जनौँ तालतलैया छन् । जहाँ माछापालनका लागि निकै उपयुक्त मानिन्छन् ।

अहिलेसम्म तालको बक्यौता रु पाँच करोड ६९ लाख ९४ हजार पुगेको छ । २७ फार्म वा व्यक्तिले नगरपालिकालाई तालतलैयाको बक्यौता बुझाउन बाँकी छ । सबैभन्दा बढी तालको बक्यौता तिर्न बाँकी कैलाली मत्स्य तथा कृषि कम्पनी प्रालिका प्रेमबहादुर भुलको देखिएको छ । उहाँले एक करोड ९२ लाख चार हजार ३६० रुपैयाँ बक्यौता तिर्न बाँकी छ । दुई करोड २९ लाख ६६ हजार १५९ रुपैयाँमा ठेक्का भएको घोरताल र गिदिनियातालको ३७ लाख ७१ हजार ७९९ रुपैयाँ भुक्तानी भएको नगरपालिकाका राजस्व शाखा प्रमुख चिरञ्जीवी उपाध्यायले जानकारी दिए।

तालको बक्यौता नतिर्ने जनप्रतिनिधि पनि छन् । वडा नं ४ का वडासदस्य तालबहादुर चौधरीले श्रीमतीका नाममा वडा नं ४ मै रहेको लोटिहुवा सोरहवाताल ठेक्कामा लिएका थिए । दुई कार्यकाल वडासदस्य निर्वाचित भएका तालबहादुरले तालको ठेक्का सम्झौता श्रीमतीका नाममा गराए पनि त्यसको सञ्चालन आफैँले गर्दै आएका थिए ।

रु २७ लाख ४७ हजार २९५ मा ठेक्का सम्झौता भएको उक्त तालको अझै २२ लाख ९७ हजार दुई सय ९५ रुपैयाँ बक्यौता छ भने चार लाख ५० हजारमात्रै भुक्तानी भएको राजस्व शाखा प्रमुख उपाध्यायले बताए। अहिले नगरपालिकाले प्रवाह गर्ने सेवासुविधाबाट वडासदस्य चौधरी पनि वञ्चित भएका छन्।

“मेरो बक्यौता नतिर्ने मनस्थितिचाहिँ होइन । कहिले सामुदायिक वनको मुद्दा, कहिले नगरपालिकाको मुद्दाले ताल सञ्चालन गर्न नसकेका कारण केही छुट पाउने आशाले ढिला भएको हो”, तालबहादुरले भने, “अब त झन नतिरेर सुखै छैन । सरकारबाट प्राप्त हुने सबै सेवासुविधा रोकिएका छन् । जेठभित्र जसरी पनि तिर्छु ।” नगरपालिका र सामुदायिक वनको विवादले काम गर्न नपाउँदा तालबाट लिनुपर्ने आम्दानी लिन नसकेपछि समयमा बक्यौता तिर्न नसकिएको उनको भनाइ छ ।

नगरप्रमुख केवल चौधरीले बक्यौताका लागि पटकपटक प्रयास गर्दा पनि सम्भव नभएपछि सुविधा रोक्नुपरेको बताए । उनका अनुसार आफ्नो नाममा रहेको बक्यौता तिरेपछि भने उसको सेवासुविधा फुकुवा हुनेछ । “कुनै सीप नलागेपछि अन्ततः बक्यौता उठाउनैपर्ने हुँदा सेवासुविधा रोकेका हौँ । उनी भन्छन्, “यति गर्दा पनि भएन भने फेरि यसपछिका प्रक्रिया चरणबद्ध अगाडि बढाइने छन् ।” रासस

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update