म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माणको प्रक्रिया तीव्र बनेको छ ।
सुपर घलेम्दी हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको यस आयोजनाले हाल नारच्याङको घलेम्दी र रेलेखोलाको दोभानदेखि अन्नपूर्ण हिमालको फेदीमा रहने प्रस्तावित बाँधस्थलसम्म जोड्ने पहुँचमार्ग खन्ने काम सुरु गरेको छ । कुल पाँच किलोमिटर ५०० मिटर लामो पहुँचमार्गमध्ये हालसम्म दुई किलोमिटर खण्डको काम सम्पन्न भइसकेको छ भने कर्मचारी आवासका लागि आवश्यक भवन समेत तयार भएको छ ।
आयोजनाका आवासीय इन्जिनियर प्रकाश भट्टराईका अनुसार हाल विद्युत्गृह निर्माण स्थलसम्म सडक पुर्याउन र जमिन तयार पार्न पहाड काट्ने काम भइरहेको छ । ‘पहुँचमार्ग खनेपछि बाँध, विद्युत्गृह र पेनस्टक पाइपलाइन जडान तथा प्रसारण लाइन निर्माणलाई समानान्तर गतिमा अघि बढाउने तयारीमा छौँ,’ भट्टराईले भने । यो आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ र यसको अनुमानित लागत एक अर्ब ८० करोड रुपैयाँ रहेको छ । आयोजनामा बाँधदेखि चार किलोमिटर २०० मिटर लामो पाइपलाइनमार्फत ल्याइने पानीलाई ४२० मिटरको उचाइबाट विद्युत्गृहमा खसालेर बिजुली उत्पादन गरिनेछ ।
आयोजनाका लागि आवश्यक पर्ने सम्पूर्ण जग्गा सार्वजनिक क्षेत्रमा पर्दछ । निर्माण स्थलमा पर्ने एक हजार ४०० रूखमध्ये ५४६ वटा कटानका लागि अनुमति प्राप्त भइसकेको छ भने बाँकी रूखका लागि प्रक्रिया अघि बढेको छ । वित्तीय व्यवस्थापनका लागि ग्लोबल आइएमई र माछापुच्छ्रे बैङ्कसँग प्रस्ताव गरिएको छ, जसमा कुल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी रहने व्यवस्था मिलाइएको छ । साथै आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर लगानीको अवसर समेत प्रदान गर्ने भएको छ।
जलविद्युत्को 'हब' बन्दै गरेको नारच्याङ क्षेत्रमा हालसम्म १६२ मेगावाट क्षमताका पाँच वटा आयोजना सञ्चालनमा आइसकेका छन् । वडाअध्यक्ष लोकबहादुर पुनका अनुसार घलेम्दीखोला, मिस्त्रीखोला, नीलगिरि–१ र २ तथा रेलेखोला आयोजनाले उत्पादन सुरु गरिसकेका छन् । यसबाहेक ६६.३ मेगावाटको मध्य कालीगण्डकी निर्माणाधीन छ भने १८४ मेगावाटको कालीगण्डकी गर्ज आयोजना पनि निर्माणको तयारीमा रहेको छ ।







