काठमाडौं । रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
रोल्पाको जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्रामा पूजा गर्न रुकुम पूर्वबाट तीर्थयात्री बोकेर गएको जीप बिहीबार (वैशाख १७) दिउँसो दुर्घटनामा परेको हो ।
थबाङ गाउँपालिका–१, जलजलास्थित सडकखण्डबाट जीप भीरमा खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । प्रहरीका अनुसार जीप करिब ८०० मिटर तल खसेको थियो, जसका कारण ठूलो मानवीय क्षति भएको हो ।
घटनापछि स्थानीयवासी, प्रहरी तथा सुरक्षाकर्मीको टोलीले उद्धार कार्य तीव्र बनाएको छ । घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाउने काम भइरहेको छ भने घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।







