तनहुँ । विश्व बैंकको सहयोगमा स्तरोन्नति सुरु भएको व्यास नगरपालिकास्थित चार वडा जोड्ने सडकको काम ४३ प्रतिशत सकिएको छ । वि.सं. २०८१ जेठदेखि सुरु भएको उक्त सडकमा हालसम्म ४३ प्रतिशत भौतिक प्रगति भएको व्यास नगरपालिकाले जनाएको छ ।
विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नतिको काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए ।
व्यास नगरपालिकाको वडा नं ७, ९, १० र ११ लाई जोड्ने पराशर मार्गअन्तर्गत बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कुल–कलेस्ती सडक कालोपत्र गरिनेछ । उक्त खण्डमा १०.५५ किलोमिटर दूरी कालोपत्र हुने प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए ।
उक्त सडक स्तरोन्नतिका लागि २०८१ साल वैशाख १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सडक स्तरोन्नतिका लागि ४० करोड ८३ लाख ३५ हजार ९२१ रुपैयाँमा निर्माण कम्पनी बिकेएचटिडिसीएल एसिपीएल जेभी कालीमाटीसँग सम्झौता भएको थियो । सडक स्तरोन्नतिका लागि गत विसं २०८० पुस २६ गते ५२ करोड ७८ लाख ३० हजार ४२७ रुपैयाँको ठेक्का आह्वान भएको थियो ।
त्यसमध्ये ९ वटा फर्मले बोलपत्र दर्ता गराएकामा २३.४१ प्रतिशत घटी बोलपत्र दर्ता गराउने फर्मको बोलपत्र स्वीकृत भएको थियो । विसं २०८२ असारसम्म यसको म्याद रहेकामा काम नसकिएपछि २०८३ असारसम्म म्याद थप भएको छ ।
दश दशमलव ५५ किलोमिटर उक्त सडकखण्डमा कालोपत्र, नाला तथा अन्य संरचना निर्माण गरिनेछ । उक्त सडकले व्यास नगरपालिका–११ स्थित बुल्दीखोला, बेल्टारी, फराकचौर, व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, व्यास नगरपालिका–९ कुमालगाउँ, व्यास नगरपालिका–७ समता स्कुल, कलेस्तीलगायतका ठाउँ जोड्छ । रासस







