Khabar Out
कोरला नाकामा जिप दुर्घटना, चालक घाइते

मुस्ताङ । काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल- चीन उत्तरी कोरलानाकातर्फ जाँदै गरेको ग१च २२५५ नम्बरको ‘टोयटा हायस जिप’ दुर्घटना हुँदा काठमाडौँ तारकेश्वर नगरपालिका–५ टोखा निवासी जिप चालक ३१ वर्षीय नागमिन सुब्बा घाइते भएका छन् । जिपमा चालकसहित पाँच जना यात्रु सवार रहेको बताइएको छ ।

कोरलानाका नजिकै अनियन्त्रित भई आज बिहान जिप दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका गणपति प्रहरी नायव उपरीक्षक भेषराज गिरीले जानकारी दिए । उनका अनुसार कोरलानाकास्थित एक किलोमिटर दक्षिणको भिरालो सडकमा सवारी दुर्घटना भएको हो ।

घाइते चालक सुब्बालाई सशस्त्र प्रहरीद्वारा कोरला नाकाबाट उद्धार गरी जोमसोम अस्पतालतर्फ ल्याउँदै गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । रासस

प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update