Khabar Out
तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत पुगेको छ । विसं २०७९ चैतदेखि निर्माण थालिएको ३.२८ किलोमिटर उक्त सडकको निर्माण आगामी असारभित्रमा सक्ने लक्ष्य रहेको पोखरा महानगरपालिका सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए ।

‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले निर्माण जिम्मा पाएको उक्त सडक ठेक्का सम्झौता भएको एक वर्षपछि मात्र निर्माण सुरु भएको थियो । जग्गा विवाद, निर्माण कम्पनीको ढिलासुस्ती आदि कारणले सुरुको चरणमा सडक निर्माण प्रभावित भएको इन्जिनियर गौतमले बताए । “छ सय मिटर जति सडकखण्डमा जग्गाको विवादले केही समय निर्माण रोकिएको थियो, अहिले जग्गाको विवाद मिलिसकेको छ, अब निर्माणले थप गति लिनेछ”, उनले भने ।

यसअघि निर्माण कम्पनीले प्रतिबद्धताअनुसार कामलाई गति दिन नसकेपछि स्थानीयस्तरबाट आलोचना हुँदै आएको थियो । विश्व बैंकको आर्थिक सहयोगमा उक्त सडक चार लेनमा विस्तार तथा स्तरोन्नति हुन लागेको हो । रु एक अर्ब ४९ करोडको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटबाहेक रु ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता भएको इन्जिनियर गौतमले बताउनुभयो । फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नमुना सडक बन्ने उनको भनाइ छ ।

सडक छेउछाउमा बगैँचा, सडक बत्तीलगायत आकर्षक पूर्वाधार निर्माणको काम भइरहेको महानगरले जनाएको छ । सडकमा तीन वटा पुल पनि बन्नेछन् । पृथ्वी राजमार्गसँग जोडिएको उक्त सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ । महानगरकै गौरवको आयोजनाका रूपमा तालचोक–बेगनास सडक स्तरोन्नति कार्यलाई अगाडि बढाइएको हो । चार लेनको सडक बनेपछि सात तालको बाटिका भनेर चिनिने सिङ्गो लेखनाथ क्षेत्रको विकासमा टेवा पुग्ने स्थानीयवासीको विश्वास छ ।

तालचोक–बेगनास सडक पृथ्वी राजमार्गसँग पनि जोडिएकाले आर्थिक र पर्यटन गतिविधि थप बढ्ने जनाइएको छ । पोखरा–मुग्लिन सडक पनि अहिले चार लेनमा स्तरोन्नति भइरहेको छ । कमसल सडककै कारण पछिल्लो समय बेगनास ताल घुम्न जाने पर्यटक घटेकामा स्तरोन्नति कार्य छिट्टै सक्नुपर्ने स्थानीयवासीको माग छ । रासस

प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update