Khabar Out
सरकारका मन्त्रीको सम्पत्ति सार्वजनिक : यस्तो छ विवरण ?

काठमाडौं । सरकारले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेपछि मन्त्रीहरूको आर्थिक अवस्था र लगानीको स्वरूपबारे चासो बढेको छ। भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार आइतबार सार्वजनिक गरिएको विवरणमा नगद, सुन–चाँदी, जग्गा तथा शेयर लगानीको विस्तृत विवरण समावेश गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत एक करोडभन्दा बढी आम्दानी गरेको विवरण दिएका छन् । फेसबुक, युट्युब, टिकटक, स्पोटिफाइ र आईट्युन्सबाट उक्त रकम आर्जन गरेको उल्लेख छ । उनीसँग श्रीमतीको नाममा १९० तोला बराबर सुन–चाँदी रहेको छ भने महोत्तरीमा नौ बिघा पैतृक जग्गा, काठमाडौंमा ५ आना र धनुषामा १.२ बिघा जग्गा रहेको देखिएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले दुईवटा अपार्टमेन्ट, ४५ तोला सुन, एक करोड ९० लाख नगद र करिब चार करोड ९० लाख बराबरको शेयर लगानी रहेको विवरण पेस गरेका छन् ।

परराष्ट्रमन्त्री शिशिर खनालसँग नौ लाख १३ हजार ८४ रुपैयाँ नगद, २२ तोला सुन र २३ तोला चाँदी रहेको छ। उनले आठ कम्पनीमा शेयर रहेको र उनकी श्रीमतीको नाममा १४ कम्पनीमा लगानी रहेको खुलाएका छन् ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग १५ तोला सुन, ५० तोला चाँदी, चार आना पैतृक जग्गा तथा करिब एक करोड ४५ लाख रुपैयाँ बराबरको शेयर लगानी रहेको छ ।

गृहमन्त्री सुधन गुरुङको विवरण अनुसार उनीसँग विभिन्न स्थानमा ठूला परिमाणमा जग्गा रहेको छ—भरतपुरमा २० कठ्ठा, गोरखाको चुमनुव्रीमा २२१ रोपनी र अन्यत्र १९ रोपनी। साथै, ८९ तोला सुन, ६ किलो चाँदी, करिब ६२ लाख नगद र चार कम्पनीमा शेयर लगानी रहेको छ ।

भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग ३० रोपनी पैतृक जग्गा, ११ कठ्ठा २५ धुर जमिन, ३० तोला सुन, ५० तोला चाँदी र विभिन्न बैंकमा ९० लाख रुपैयाँ मौज्दात रहेको छ ।

कानुनमन्त्री सोबिता गौतमले १५ तोला सुन, नौ तोला चाँदी, एक तोला हिरा र १० लाख ५० हजारभन्दा बढी नगद रहेको विवरण दिएकी छिन् ।

अन्य मन्त्रीहरूमा पनि सुन–चाँदी, नगद र जग्गाको उल्लेखनीय स्वामित्व देखिएको छ। मन्त्री सीता बादीसँग १८ तोला सुन र १५ तोला चाँदी तथा १५ लाख नगद रहेको छ भने संघीय मामिला मन्त्री प्रतिभा रावलसँग पाँच आना १० धुर जग्गा, २५ तोला सुन र करिब पाँच लाख नगद रहेको छ ।

खानेपानी मन्त्री सीता मेहताले काठमाडौंमा सात आना र महोत्तरीमा १० बिघा जग्गा, ३० तोला सुन, ५० तोला चाँदी र करिब १७ लाख नगद रहेको विवरण दिएकी छिन् ।

शिक्षामन्त्री सस्मित पोखरेलले करिब २२ करोड बराबरको पैतृक जग्गा, २५ तोला सुन र १०० तोला चाँदी रहेको खुलाएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलसँग ११ तोला सुन, पाँच तोला चाँदी र करिब २५ लाख नगद रहेको छ ।

सञ्चारमन्त्री विक्रम तिम्लसिनासँग नागार्जुनमा जग्गा, तीन तोला सुन, १० तोला चाँदी र १० लाख २५ हजार नगद रहेको छ ।

कृषिमन्त्री गीता चौधरीसँग राजापुर र सैनामैनामा जग्गा, पाँच तोला सुन, १०० तोला चाँदी र एक लाख ३० हजार नगद रहेको छ भने उद्योग वाणिज्य मन्त्री गौरी कुमारी यादवसँग काठमाडौंमा २५ आना र महोत्तरीमा २९ कठ्ठा जग्गा, १८० तोला सुन र दुई किलो चाँदी रहेको उल्लेख छ ।

यस्तै, मन्त्री रामजी यादवसँग राजविराजमा ११ कठ्ठा १३ धुर जमिन, ८० तोला सुन र १५० तोला चाँदी रहेको विवरणमा उल्लेख गरिएको छ ।

सरकारले सार्वजनिक गरेको यो विवरणले पारदर्शिता बढाउने अपेक्षा गरिएको छ भने मन्त्रीहरूको सम्पत्ति संरचना र लगानी प्रवृत्तिबारे जनचासो पनि थप बढाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  २२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update