काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँले मूल्य बढाइएको छ। त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर १०० रुपैयाँ वृद्धि गरिएको छ । हवाई इन्धन (आन्तरिक) मा पनि प्रतिलिटर ६ रुपैयाँले मूल्य बढाइएको निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा २१६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २१८ रुपैयाँ र तेस्रो वर्गमा २१९ रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा २०४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २०६ रुपैयाँ र तेस्रो वर्गमा २०७ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
खाना पकाउने ग्यासको मूल्य १४.२ केजी सिलिन्डरको २०१० रुपैयाँ र ७.१ केजी सिलिन्डरको १००५ रुपैयाँ पुगेको छ। हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर २५७ रुपैयाँ कायम गरिएको निगमले जानकारी दिएको छ ।
मूल्यवृद्धिसँगै उपभोक्तामा थप आर्थिक भार पर्ने भएको छ ।







